कविता : अन्तिम यात्रा



टीका खनाल

कसोरी भयो नि कठै आज यस्तो !
सबै शून्यतामा हराएको जस्तो ।
चलेकै छ हावा बगेकै छ पानी
म एक्लै ढलें भो नि माटो सिरानी ।।

न ता औषधिले पनि केही छुन्छ
न सामथ्र्यले नै पनि कत्ति हुुन्छ ।
न त पाएँ निल्न तुलसी र पानी
म एक्लै ढलें भो नि माटो सिरानी ।।

न नाता छ कोही न छन् साथी आफ्ना
कहाँबाट आयो हरे यो दुरात्मा ।
न पाएँ प्रियको आखिरी निसानी
म एक्लै ढलें भो नि माटो सिरानी ।।

न सन्तान आए न आए छिमेकी
क्षितिज निहार्दै म पल्टिन्छु रोई ।
मनै मन डढें भएँ लौ खरानी
म एक्लै ढलें भो नि माटो सिरानी ।।

न छन् कोही आफ्ना भए सब बिराना
सधैं तिमी बाँच्नू, म भएँ रबाना।
न छेके कतै सूर्यले चन्द्रले नि
म एक्लै ढलें भो नि माटो सिरानी ।।

कीर्तिपुर, ११ भदौ २०७७ ।

प्रतिक्रिया दिनुहोस्