के लेख्नु मैले पऱ्यो !



न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । राष्ट्रकवि घिमिरेको १०२ बर्षको उमेरमा काठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो ।

 उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।

गौरी (शोककाव्य) मध्येः के लेख्नु मैले पऱ्यो ! 

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो
आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि
यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब
कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
-स्व. माधब प्रसाद घिमिरे ।

विरहमा पनि कवि मन रमाउन सक्नुपर्छ

२८ वर्षको उमेरमा आफूलाई भन्दा बढी माया गर्ने धर्मपत्नी गौरीलाई गुमाएपछि घिमिरेले शोककाव्य नै तयार पार्नुभयो ‘गौरी’ । गौरी पढेर आँखा नरसाउने कमै होलान् । टुहुरा छोरीहरु कान्ति र शान्तिको छटपटी मात्रै होइन, गौरीको कल्पनामा आफू डुबेको कुरा ‘गौरी’मा समेट्नुभएको छ ।

‘मान्छे अचम्मको छ । मिठो दालभात तरकारी छ, तर तपाईँलाई अलिकति पिरो किन चाहियो रु जीवनमा सुखैसुख भएर मात्रै पनि हुँदैन । विरह पनि चाहिन्छ । सबैभन्दा ठूलो कुरो कसैको दुःखमा कठै भनिन्छ कि भनिन्न रु कठैबरा विरह मन पलाएरै भन्या हो नि, होइन त रु सकभर विरह कसैलाई भोग्नु नपरोस् । पर्यो भने सबैले मिलेर समाधान गर्नुपर्छ, बिर्सन पर्छ । सबैलाई विरहै–विरह परोस् पनि भन्या होइन । विरह नथप्नुस् । तपाईँले कहिलेकाहीँ बाजा बजेको सुन्नुहुन्छ । गन्धर्वको सारङ्गी र्‍याइँर्‍याइँ अथवा उस्तादको आलाप । अथवा भ्वाइलिन रोएजस्तो । त्यो सुन्नुभयो भने मात्रै तपाईँलाई राम्रो लाग्छ । यसको अर्थ रुनु मात्रै होइन, हाँसो खुसी पनि हो ।

कविताले सबैलाई स्वीकार गर्छ । दुःख पनि स्वीकार गर्छ । सानो मान्छेलाई ठूलो मान्छेलाई भन्दा महत्व कविताले दिन्छ । कविताको किसिम नै अलग हुन्छ । कला साहित्यको कामै त्यस्तै हुन्छ । सानो एउटा टुक्राले पनि रुवाइदिन्छ । तपाईँ कथा पढ्दै जानुहुन्छ, तर एउटा ठाउँमा तपाईँको बररर आँसु आइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्