“कसैको अनुभव कसैको लागि उर्जा बन्न सक्छ”



नेपाली खेलकुद जगतका सदाबहार ब्यक्तित्व हुन् विष्णुगोपाल श्रेष्ठ । विगत ५ दशकभन्दा बढी समयदेखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेलकुदसँग जोडिएर नेपाली खेलकुद विकासमा अग्रसर छन् उहां । खेलाडीदेखि खेल प्रशासक, चलचित्र निर्माता हुँदै हाल १२ वटा विभिन्न संस्थाको अध्यक्ष समेत रहेका बहुआयामिक ब्यक्तित्व तथा समाजसेवी श्रेष्ठसंग वर्तमान नेपाली खेलकुदको विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका कविरस शर्माले गरेको कुराकानीको सार संक्षेप यहां प्रस्तुत गरिएको छ ।

खेलकुदमा कसरी लाग्नु भयो ?
बच्चैदेखि खेलकुदमा रूचि भएकोले खेलकुदमा लागेको हुं । स्कुलमा एकजना स्पोर्ट्स पर्सनबाट प्रभावित भएर खेलकुदतिर रूचि बढेको थियो ।

सुरुमा कुन खेलमा आकर्षित हुनुभयो ?
बक्सिंग र फुटबल मन परेकोले यही खेलमा लागे । स्कुल पढ्दा पढ्दै दुवै खेल खेले । कक्षा १० मा पढ्दै गर्दा बक्सिंग खेल्न थाले । त्यसै समय मैले राष्ट्रियस्तरको युथ फेस्टिभल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थिएं । त्यसपछि फुटबलतिर लागियो । जहां मेरो खेल करियरले उंचाई चुम्न थाल्यो । मैले एकपछि अर्को सफलता पाउँदै गए । म फरवार्ड र अन्य स्थानबाट पनि खेल्थे । तर, पछि गोलकीपिंगतिर नै जमे ।

फुटबलमा गोलरक्षक नै रोज्नुको कारण चाहिँ के थियो ?

स्कुल पढ्दा नै म अरुलाई पनि खेल्न झक्झक्याउंथे । वि.सं २०२२ सालतिरको कुरा हो, मैले जुद्दोदय मावि, दरवार हाई स्कुल र शान्ति निकुञ्जको विधार्थीलाई मिलाएर एउटा टिम तयार पारेको थिएं । जसमा मेरै टिम पद्दमोदय स्कुलका राम्रा गोलरक्षकलाई पनि त्यही टिमबाट खेल्न लगाए । अनि पद्दमोदय टिमको गोलरक्षक चाहिं म आफै बने । खेलमा हाम्रो टोलीविरुद्ध पेनाल्टी दिइयो । त्यतिबेलाका नामुद खेलाडी तेञ्जिंगले उक्त पेनाल्टी हानेका थिए । उनको प्रहार मैले छेकेपछि मैले नसोचेको तारिफ पाए । वास्तवमा त्यतिबेला मलाई गोलकीपिंग सम्बन्धी कुनै ज्ञान नै थिएन । म त त्यहाँ अन्दाजको भरमा लडेको मात्र थिएं । तर, त्यो वाहवाहीले मेरो निन्द्रा नै हराएको थियो । म यति प्रभावित भए कि मैले अब गोलकीपर नै बन्ने अठोट गरे । त्यो मेरो खेल करियरको ‘टर्निंग पोइन्ट’ समेत हो ।

त्यस समय गोलरक्षकको प्रशिक्षण कसरी गर्नु हुन्थ्यो ?

त्यतिबेला सर्वसाधारणदेखि क्लबका खेलाडीहरुले समेत प्रशिक्षण गर्ने साझा खेलस्थल थियो टुँडिखेल । म पनि प्रशिक्षणको लागि त्यही जान्थे । त्यतिमात्र होईन, म ब्रिटिश काउन्सिलमा जान्थे र फुटबल सम्बन्धित ‘हाउ तू बी अ गोलकीपर’ भन्ने किताब हेर्थे । त्यतिबेला अहिले जस्तो सहजै फोटो खिच्न मिल्ने साधन थिएन । त्यस किताबमा कोरिएका चित्रलाई हातैले लेखेर कपी गर्थे अनि त्यसै अनुसार अभ्यास गर्थे । त्यति मात्र होईन, टुँडिखेलको बारमा बल हान्न लगाउंथे अनि त्यसबाट रिबाउन्ड भएको बल समाउंथे ।

क्लबबाट खेल्ने अवसर चाहिं कसरी जुर्‍यो ?

मैले टुँडिखेलमा गरेको प्रशिक्षण देखेर त्यति बेलाको फुटबल क्लब बिधा ब्यायामका एकजना चर्चित खेलाडी ज्ञान प्रसाद श्रेष्ठ दाईले मलाई खेल्न अफर गर्नुभयो । उहाँको ब्यक्तित्व यस्तो थियो की उहाँलाई छुँदा पनि मैले ठूलै कुरा पाएं जस्तो लाग्थ्यो । मैले नाई भन्ने कुरै थिएन । भोलिपल्टदेखि बिधा ब्यायामको ट्रेनिंगमा सामेल भएं । तर, त्यहाँ मभन्दा अगाडी अन्य ४ जना अतिरिक्त गोलकीपरहरु पनि थिए । तर, संयोगले ज्ञानेश्वर टिमसँग भएको एउटा खेलमा मैले खेल्ने अवसर पाए । सो खेलमा मैले गरेको प्रदर्शनबाट सबैजना प्रभावित भए । त्यसपछि मैले कहिले पछाडि फर्केर हेर्नु परेन । मैले आरसीटी, महाबीर क्लब र एनआरटीबाट पनि खेले ।

तपाईले कुन–कुन अन्तर्राष्ट्रिय म्याचहरु खेल्नु भयो ?

सन् १९६९ मा ढाकामा भएको फुटबलमा पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यू गरेको थिएं । ढाकामा हाम्रो भब्य स्वागत गरिएको थियो । त्यही भएको एउटा प्रेस कन्फेरेन्समा हाम्रो टिमका लिडर जर्नेल नर शमशेरले हाम्रो टिम बलियो छ तर गोलरक्षक भने अलि कमजोर छ भनेर बोल्नुभएको थियो । त्यसपछि मलाई मनोवैज्ञानिक दवाब परेको थियो । तर, म्याचमा मैले उत्कृष्ट प्रदर्शन गरेपछि सबैले मलाई माने । त्यसपछि भारतमा भएको डीसीएम फुटबल प्रतियोगिता खेल्न गए । त्यहाँ पनि मेरो प्रदर्शन आउट स्टेन्डिंग रह्यो । त्यसपछि जापान, चीन, बर्मा लगायतका देशहरुमा पनि खेल्न जाँदा मैले उत्कृष्ट प्रदर्शन गरे ।

फुटबल कहिलेसम्म खेल्नु भयो ?

मैले १९६३ देखि १९७४ सम्म गरी ११ वर्षसम्म फुटबल खेले । त्यसपछि तत्कालीन राजाबाट राष्ट्रिय खेलकुद परिषद राखेपमा मलाई कोषाध्यक्षमा मनोनित गरियो । त्यसबेला शरद चन्द्र शाह सदस्य सचिव हुनु भएको थियो । त्यतिबेलाको हाम्रो राखेप टिमले नेपाली खेलकुद क्षेत्रमा गरेको काम अहिलेसम्म सम्झनलायक बनेको छ । खेल भौतिक संरचना निर्माण लगायत राष्ट्रिय खेलकुदको थालनी देखि दक्षिण एसियाली खेलकुदको परिकल्पना पनि त्यसै समयमा भएको थियो । त्यति बेला मैले फुटबलमा दुईवटा कुरा सुधार गरे । एउटा निर्धारित समयमा म्याच सुरु गरे भने अर्को टिकट विक्रीबाट उठेको हिसाब किताब सहित ब्यालेन्स शिट पत्रिकामा छाप्न लगाए ।

कहिलेसम्म राखेप कोषाध्यक्ष हुनुभयो ?

२०४५ को फागुनमा हुरीबतास र असिनापानीका कारण रंगशालामा भएको भागदौडले दर्शकहरुको मृत्यु भएपछि हाम्रो टिमले नै नैतिकताको आधारमा राखेपबाट राजिनामा दिएका थियौं । वास्तवमा त्यहाँ जसको गल्ती भएपनि हामीलाई चाहिं नैतिकताको आधारमा त्यसको जिम्मेवारी लिएर राजिनामा गर्नुपर्छ भन्ने कुरा नै सही लाग्यो । राखेप छोडेपनि खेलकुदमा केहि गर्नुपर्छ भनेर म नेपाल बक्सिंग संघ, नेपाल जुडो संघ र नेपाल तेक्वान्डो संघमा सक्रिय भएँ ।

राजिनामापछि खेलकुदमा आफ्नो उपस्थिति कसरी जनाउनु भयो ?

म नेपाल जुडो संघको संस्थापक अध्यक्ष बने । त्यस्तै, नेपाल बक्सिंग संघको पनि संस्थापक अध्यक्ष र नेपाल तेक्वान्दो संघको उपाध्यक्ष भए । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद संघ–संस्थामा पनि म आबद्ध भए । म जुडो युनियन अफ एसिया, एसियन तेक्वान्दो युनियन र एसियन बक्सिंग काउन्सिल (प्रोफेसनल बक्सिंग) को उपाध्यक्ष भए । एमेच्योर बक्सिंगको सर्वोच्च निकाय आईबाको इलेक्सन कमिस्नरका रुपमा म टर्की र इजिप्टमा पनि गएको छु । नेपाली खेलकुदमा विश्वस्तरको यो जिम्मेवारी पाउने अहिलेसम्मकै म पहिलो र एक्लो नेपाली हुं । म साउथ एसियन जुडो फेडेरेसनको संस्थापक अध्यक्ष पनि भए । मस्को ओलम्पिक र आठौं एसियन गेम्समा चीफ अफ डी मिसन पनि बने । लिडर अफ डेलीकेसन भएर पनि थुप्रै देशमा पुगेको छु ।

तपाइको अनुभवमा कुनै पनि संघलाइ उर्जाशील बनाउने आधारहरु के–के हुन् ?

मुख्यतः चार वटा कुरा पावर, सोसल स्टेटस, स्किल र डेडिकेसनको समिश्रण हुनुपर्छ । यो नै मुल मन्त्र पनि हो । यी चार वटा गुणले युक्त मान्छेलाई मिसाएर संघ गठन गरिनुपर्छ । अनि मात्र संघले गति लिन्छ ।

करीब एकै समयमा तीन वटा खेल संघको जिम्मेवारी पाउंदा काम गर्न असहज भएन र ?

त्यतिबेला मनोनयन गर्ने चलन थियो । काममा समर्पित हुने मेरो स्वभावका कारण नै मलाई तीन वटा संघमा मनोनयन गरिएको होला । म बिग्रेको कुराको जिम्मेवारी आफै लिन्थे भने सप्रेको कुराको स्याबासी टिमसंग साटासाट गर्थे । वास्तवमा म अध्यक्ष वा उपाध्यक्ष हुँदैमा ठूलो हुने भन्ने होईन । संघभित्र सबैको टिमवर्क उत्तिकै महत्वपूर्ण हुन्छ । सबैजना उत्तिकै सम्मानजनक हुन्छ । सबैले आ–आफ्नो जिम्मेवारी ईमानदारीपूर्वक ग¥यौं भने मात्र खेल संघ अगाडि बढ्न सक्छ ।

त्यतिबेला तपाईको नेतृत्वमा रहेका संघहरुको अवस्था कस्तो थियो ?

संघहरु भर्खरै जन्मेकाले अगाडी बढाउने चुनौतीहरु थियो । खेलाडी उत्पादन गर्नेदेखि अन्तर्रास्ट्रिय प्रतियोगितामा सहभागी हुनेसम्मको योजना बनाउनेतिर अग्रसर भयौं ।

तपाईको अध्यक्षतामा नेपाल बक्सिंग संघले कस्तो उपलब्धि हासिल गरेको थियो ?

नेपाल बक्सिंग संघ भर्खरै जन्मेको थियो । चुनौतीहरु थुप्रै थियो । तर, त्यतिबेला खेलबाट देशको लागि केही गर्छु भन्ने स्प्रिट भएका जुझारू खेलाडीहरुको कुनै कमी थिएन । सिमित स्रोत साधनका बावजूद पनि नेपाली खेलाडीले मिश्रित नतिजा ल्याउने गर्थे । त्यतिबेला नेपाली बक्सरहरुले टेक्निकल भन्दा पनि आंटको भरमा बक्सिंग खेल्थे । चर्चित बक्सर स्व.दलबहादुर रानामगर यसको उदाहरण हुन् । उनको साहस देखेर नै मैले उनलाई राष्ट्रिय टिममा लिएको थिएँ । त्यसपछि उनले त्यसलाई प्रमाणित मात्र गरेन, सम्पूर्ण नेपाली बक्सिंगलाई नै गौरवान्वित बनाए । म आफुलाई भाग्यशाली ठान्छु देशको लागि अमूल्य योगदान दिने ती खेलाडी मेरो नेतृत्वमा छान्न पाएकोमा । म दुई कार्यकाल बक्सिंग संघको अध्यक्ष बने ।

तपाईले पहिलो कार्यकालमा नेपाल बक्सिंग संघबाट राजिनामा दिनुको कारण के थियो ?

त्यति बेला मैले आफ्नो वचन पूरा गरेको थिए । सन् १९७९ र १९८० मा भएको दुई वटा ठूला प्रतियोगितामा नेपाली बक्सिंग टोलीले कमजोर प्रदर्शन गरेको थियो । अनि १९८२ मा भारतमा भएको एसियन गेम्समा पनि पदक जित्न सकेन भने मैले राजीनामा दिन्छु भनेर घोषणा गरेको थिए । एसियन गेम्सका लागि थाइल्यान्डमा ६ महिना ट्रेनिंग गरेर तयारी पनि राम्रै भएको थियो । परिणामस्वरुप भारतमा हाम्रो तीन जना बक्सरले उच्चस्तरको प्रदर्शन ग¥यो । प्रतिस्पर्धात्मक खेलमा हाम्रा दुई जना खेलाडी दक्षिण कोरियाली बक्सरसंग पराजित भए भने अर्का एकजना बक्सर नरबहादुर योञ्जनले इराकी खेलाडीलाई नकडाउन समेत गरेका थिए । तर, अंकको आधारमा उनी पनि पराजित भएपछि पदक जित्ने सम्भावना भने समाप्त भयो । त्यसपछि राजीनामा दिए । बक्सिंगको स्तर सुधार भएको देखेर मलाई त्यतिबेलाका प्रशासकले राजीनामा नगर्न भनेका पनि थिए, तर मैले राजीनामा दिएर आफ्नो प्रतिबद्धता पूरा गरे । त्यसको केही महिनापश्चात् तत्कालीन खेलकुद संरक्षक धिरेन्द« शाहले मलाई नेपाल बक्सिंग संघको मानार्थ आजीवन अध्यक्षको पद दिनुभयो ।

के कारणले बक्सिंग संघमा तपाईको आजीवन मानार्थ अध्यक्ष पदप्रति प्रश्न उठ्ने गरेको छ ?

दुई कार्यकाल बक्सिंग संघको अध्यक्ष हुंदा मैले नेपाली बक्सिंग विकासमा गरेको कामबाट प्रभावित भएरै नै होला मलाई यो सम्मान दिईएको हो । तर, अहिले यो विषयमा हिनभावना भएकाहरुले मतभेद राख्न थालेका छन् । म पदको भोको होइन, तर जुन सम्मान मैले विगतमा पाएं, त्यो मैले गरेको कामको आधारमा पाएको हुं । त्यसलाई मैले कसरी अहिले नकार्ने । कसैले मानोस् वा नमानोस् त्यो मेरो सरोकारको विषय होईन । मैले यो पदवी पाएकै हो र म बाचुञ्जेल यही नै लेख्छु । नेपालमा म लगायत एथ्लेटिक्सका सुशील शम्शेर र फुटबलका नरशमशेर गरी तीन जनाले यस्तो सम्मान पाएका छन् ।

नेपाल बक्सिंग संघको विवाद अहिले उत्कर्षमा छ, के भन्नुहुन्छ ?

यो विवादलाई म पर्सनालिटी क्लाशको रुपमा लिन्छु । केही ब्यक्तिले मलाई यो विवादमा मेरो पनि संलग्नता छ भनेर मुछ्ने काम गरेका छन् । तर, यो गलत हो । कुनै पनि विवाद समाधानका लागि जानकार र अनुभवीहरुको सल्लाह र सुझाव अपरिहार्य हुन्छ । पूर्वअध्यक्ष भएकोले मसँग वर्तमान पदाधिकारीले सल्लाह सुझाव लिन आउँछन् भने मैले किन नदिने । म अध्यक्ष हुँदाका कतिपय खेलाडीहरु अहिले बक्सिंग संघका अध्यक्ष बनिसकेका छन् । वर्तमान अध्यक्ष राम अवाले पनि ती मध्येका एक हुन् । अहिले अवालेले बक्सिंग विकासमा मनग्गे लगानी गरिरहेका छन् । नतिजा पनि राम्रै निस्किरहेको छ । १३औं सागमा बक्सिंगले पहिलो पटक ३ वटा स्वर्ण पदक जित्नु ठूलो उपलब्धि हो । दुईबाट तीन स्वर्णसम्म पुग्न हामीलाई २० वर्ष लाग्यो । म सही अथवा गलत हुनसक्छु । तर, मैले दिएको सल्लाह र सुझावलाई छान्नु प¥यो नि । मलाई त अहिले अध्यक्ष बन्नु छैन । अब मेरो अनुभव र जानेको कुरा साट्दा कसैले मलाई नै विवादसँग जोड्न खोज्छन् भने त्यो त राम्रो कुरा होईन नि । के अब म मर्दा मेरो अनुभव र भोगाई पनि मसँगै मर्नुपर्छ भन्ने छ र ? खेलकुदको विकास हुन्छ भने म मेरो अनुभव जो कसैलाई पनि साट्न तयार छु ।

यसपटक महिला इभेन्ट्स पनि राखिएकोले स्वर्ण संख्या तीन पुगेको भन्नेहरुलाई के भन्नुहुन्छ ?

यो गलत बुझाई हो । समग्रमा तीन जना नेपाली बक्सरले स्वर्ण जितेको भन्छु म । तीन वटा स्वर्ण जित्नु उपलब्धि नै हो । नेपालले बक्सिंगमा २० वर्षपछि स्वर्ण जितेको छ । स्वर्ण जित्न बीस वर्षसम्म कुर्नुप¥यो । यदि अहिले बक्सिंगले उपलब्धि हासिल गरेको नमान्ने हो भने बितेका २० वर्षसम्म सागमा किन स्वर्ण जित्न सकेनन् त ? विगतमा पनि संघका नेतृत्वकर्ताले स्वर्ण जितेर देखाउन सक्नुपथ्र्यो । पहिले र अहिले ट्रेनिंग उस्तै भएका होलान्, तर अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता धेरै बढेको छ । खेलाडीले फाइटको अनुभव बटुल्ने मौका पाएका छन् । महिला होस् वा पुरुष, स्वर्ण जित्नु आफैमा ऐतिहासिक कुरा हो । सागमा महिला बक्सिंग राखिएको पहिलो पटक हो तर, पहिलो पटकमै स्वर्ण जित्नु चाहिं उपलब्धि होइन र । पुरुषले जितेको अर्थ हुने अनि महिलाले जितेको अर्थ नहुने भन्ने कुरै हुदैन । त्यति मात्र होईन १३औं सागमा रजत र काश्य संख्या पनि बढेको छ ।

नयाँ खेलाडी उत्पादन गर्ने विषयमा नेपाल बक्सिंग संघ सुस्ताएको हो ?

दोस्रो पटक अध्यक्ष बन्दा मैले राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग बिना नै एक वर्षभित्र चौध वटा प्रतियोगिता गरेको थिए । हामीले नोभीस लगायत इन्टर सिटी, इन्टर स्कुल, उमेर समूहका साथै १९ वषर््ा मुनिको साउथ एसियन बक्सिंग च्याम्पियनशीप लगायत थुप्रै प्रतियोगिताहरु गरेका थियौं । त्यो म एक्लैले गरेको होईन, त्यो त मेरो सम्पूर्ण टिमको साथ र मेहनतले सम्भव भएको हो । तर, अहिले बक्सिंग संघमा विवाद र अवरोध गर्नेहरु देख्दैछु । जसका कारण प्रतियोगिता आयोजना गर्न नसकेको हो की भन्ने मलाई लागेको छ ।

केहि वर्षअघि बक्सिंगलाई स्कुलमा पु¥याउने योजना बनाइएको थियो, त्यो कार्यान्वयन नहुनुको कारण के होला ?

त्यतिबेला पत्रकार सम्मलेन नै गरेर उक्त योजना कार्यान्वयन गर्ने घोषणा गरेका थियौं । मेरो पहलमा धेरै स्कुल राजी पनि भएका थिए । तर, बक्सिंग विकासमा बाधक तथा गलत नियत भएका केही ब्यक्तिहरुले अवरोध सिर्जना गर्ने काम गरेपछि कार्यान्वयन गर्न सकेनौं ।

अहिलेको विवाद कसरी समाधान गर्न सकिन्छ जस्तो लाग्छ ?

दुवै पक्षले कुरा बुझ्नुपर्छ । संघभित्र शतप्रतिशतलाई एकैसाथ चित्त बुझाउन सजिलो हुदैन । मौका र अवसर भनेको पालैपालो आउने हो र धैर्य गर्नुपर्छ । यदि कोही मान्छे वास्तवमै खेलप्रेमी हो भने उसले विवाद सिर्जना गर्नु र नकारात्मक कुरा गर्नुको साटो सहयोग गर्नेतिर अग्रसरता देखाउनु पर्छ । अहिलेको अध्यक्षको कुरा गर्नुहुन्छ भने उहाँ मात्र होईन, उहाँको सम्पूर्ण परिवारले नै बक्सिंगलाई साथ र सहयोग गरिरहेको छ । तर, संघभित्र भने हिन भावना भएकाहरुले विवाद जन्माईरहेका छन् । यदि राजनीति नै गर्ने मन भए राजनिति क्षेत्रमा नै जाँदा भइहाल्यो नि । खेलकुद राजनीति गर्ने ठाउँ होईन । अहिले बक्सिंगको नतिजा पनि राम्रो हुँदै गइरहेको छ । रेफ्री, कोच ट्रेनिंगदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पनि क्रमिक रुपमा बढेको छ । यसलाई निरन्तरता दिन दुवै पक्षले बक्सिंग विकास नै पहिलो प्राथमिकता हो भनेर लाग्नुपर्छ ।

तपाईको अध्यक्षतामा बक्सिंग कोर कमिटी गठन गरिएको थियो, गठन गर्नुको उदेश्य के थियो र किन खारेज गरियो ?

बक्सिंगको विकासमा मेरो अनुभव र सल्लाहले थप टेवा पुग्छ की भनेर उक्त कमिटी गठन गरिएको थियो । बक्सिंग विकासमा पूर्ण रुपमा समर्पित संघका पदाधिकारीलाई पनि मिलाएर उक्त कमिटी गठन गर्ने निर्णय गरेका थियौं । जसमा मलाई अध्यक्षको प्रस्ताव आएपछि मैले मानेको हुं । त्यसको उद्देश्य भनेको कुनै निर्णय अथवा योजना बनाउँदा सुरुमा तिनै कोर कमिटीका ब्यक्तिहरुबीच सल्लाह र सुझाव गर्नु र ठोस् निर्णयमा पुग्नु थियो । त्यसमा विभिन्न क्षेत्रका हस्ती तथा दिग्गज ब्यक्तिहरुलाई पनि सम्मिलित गराएर बक्सिंग विकास गर्ने योजना थियो । तर, नेपाल बक्सिंग संघभित्रबाट नै विरोध भएपछि उक्त कमिटी खारेज ग¥यौं ।

वर्तमान नेपाली खेलकुदलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ?

राष्ट्रिय खेलकुद परिषदको सुरुवात हुँदा विकास र प्रशासनिक गरी कुल बार्षिक बजेट ३० लाख थियो । शरदचन्द्र शाह सदस्य सचिव हुँदा हामीले ३० लाख बजेटले थुप्रै ठाउँमा खेलपूर्वाधार निर्माण गरेका थियौं । बजेट कम भनेर हामी चुप लागेनौ, बुद्धि र विवेक पनि प्रयोग ग¥यौं । अहिले अर्बमा छ हाम्रो खेलकुद बजेट, तर खेलकुदको लागि त्यो पनि अपर्याप्त नै हो । अहिले झन् धेरै उपाय र विकल्पहरु पनि छन् । त्यसका लागि अनुभवीहरुसँग सल्लाह लिनुपर्छ । मान्छे जतिसुकै ज्ञाता भएपनि उ कति ठाउँमा चुकिरहेका हुन्छन् । ज्ञान अरुसंग पनि छ र सल्लाह सुझाव लिनुपर्छ भन्ने सोच बनाउनु पर्छ । संसारमा कोही पनि पूर्ण छैन । गल्तीबाटै मान्छेले सिक्ने हो । गल्तीबाट बच्न भूतपूर्वको कुरा बहालवालाले सुन्नुपर्छ । किनभने भोलीका दिनमा बहालवाला नै भुतपूर्व बन्ने हो । कोही ब्यक्ति कुनै खेल वा संघसंग सम्बन्धित थिए भने उसको अनुभव र भोगाईबाट धेरै कुरा सिक्न सकिन्छ । मलाई के लाग्छ भने त्यस्ता ब्यक्तिहरुसंग सल्लाह र सुझाव लिनुस् । सल्लाह र सुझाव लिँदैमा कोही पनि ठूलो–सानो भईदैन । कसैको अनुभव कसैको लागि उर्जा बन्न सक्छ ।

खेलकुदबाट चलचित्र क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?

मलाई चलचित्रमा पनि रूचि थियो । कलाकारहरुको कामलाई आदर गर्थे । कलाकारहरुसँग मेरो सम्बन्ध पनि राम्रै थियो । अभिनेता शिव श्रेष्ठ र मोहन सर्राफले अब फिल्ममा पनि लगानी गर्नुहोस भनेर सुझाव दिनुभयो । मैले चाहिं ब्यापार भन्दा पनि इतिहास बनाउने मनसायले चलचित्रमा संयुक्त लगानी गरे । जसअनुसार चिनो फिल्ममा लगानी गरियो र अपार सफलता पनि पायौं । त्यसपछि नेपालको पहिलो सिनेमास्कोप चलचित्र राँको पनि बनायौं । नेपाल चलचित्र संघको अध्यक्ष हुँदा मैले नेपाल मोसन पिक्चर्स अवार्डको पनि थालनी गरेको हुं ।

प्रतिक्रिया दिनुहोस्