खानीमा सुक्खा पहिरो: एक जनाको मृत्यु



हेटौंडा, (नेस)।

त्रिभुवनको राजपथको गैरीगाउँमा डाँडा नै झरेर सुक्खा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा–१२, नौखण्डेको गैरीगाउँमा बिहीबार राति करिब ७ बजे सुक्खा पहिरो जाँदा एक पुरुषको मृत्यु भएको हो ।
पहिरोले ढुंगाखानीमा काम गर्ने स्थानीय करिब ५४ वर्षीय कालु मोक्तानको मृत्यु भएको र उनको शुक्रबार विहान शव फेला परेको वडा अध्यक्ष किरणमान बलले बताउनुभयो । पहिरो जानुभन्दा आधा घण्टाअघिसम्म मोक्तान अन्य कामदारसँग सम्पर्कमा रहनुभएको स्थानीयले बताएका छन् । पहिरोमा ज्यान गुमाउनुभएका मोक्तानले ढुंगाखानीका कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो ।
ढुंगा लोड गर्नका लागि पार्किङमा राखिएको ट्रिपर र जेसीबी पुरिएको स्थानीय सुरेश लामाले जानकारी दिनुभयो । अरु ट्रिपरमा पनि केही थिए वा थिएनन् भन्ने यकिन नभएको बुझिएको छ । थप पहिरो झर्ने डरले उद्धारको काम हुन सकेको छैन ।
जेसीबी र ट्रिपरहरु पुरिएकोले अन्य कतिको हताहत भयो भन्न नसकिने घटनास्थलबाट स्थानीय मंगलबहादुर मोक्तानले जानकारी दिनुभयो ।
पहिरोमा परेर ४ वटा ट्रिपर र जेसीबी पुरिएको देखिएको अध्यक्ष बलको भनाइ छ । ढुंगाखानीमा गएको पहिरोमा पुरिएकाको खोजी सुरु गरिएको छ । गाडीहरु रोकिराखेको अबस्थामा पहिरो गएको हो । ती गाडीमा रहेका केही व्यक्ति गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
माथिबाट ढिस्को खस्दा ढुंगा खानीमा जाने सडकमा रोकिराखेका गाडीहरु पुरिएका हुन् । पहिरोले त्रिभुवन राजपथ अवरुद्ध भएको छ । माथिबाट पहिरो झरिरहेकोले तत्काल राजपथ सुचारु गर्न सकिने स्थिति नरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।
माइनिङ एण्ड माइनिङ कम्पनीले लामो समयदेखि खानी उत्खनन् गर्दै आएको वडा अध्यक्ष बलको भनाइ छ । उक्त कम्पनीले खानी उत्खनन् गरी विभिन्न सिमेन्ट उद्योगलाई कच्चापदार्थ बिक्री गर्दै आएको छ ।
चुनढुंगा खानी उत्खनन् गर्दा मापदण्ड पुरा नगरी गरिएकोले पहिरो गएको स्थानीयको आरोप छ । खानीमा वर्षाको समयमा उत्खनन् गर्दा पनि भित्रसम्म कोप्ने गरेकोले माथिको भाग लडेर पहिरो गएको आशंका गरिएको छ ।
थाहानगरमा कोरोना हाइकेयर रुम
हेटौंडा, (नेस)÷सम्भावित कोरोना संक्रमितका लागि व्यबस्थित क्वारेन्टाइन सेवाप्रवाह गरिरहेको उत्तरी मकवानपुरको थाहानगरले कोरोना पुष्टि भएकाका लागि हाइकेयर रुम सुरु गरेको छ ।
थाहानगरको ओम अध्याय रिसोर्टको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना भेटिएपछि उनीहरुलाई २९ साउनको बेलुका हाइकेयर रुममा स्थान्तरण गरिएको छ । २४ सै घण्टा डाक्टरको सेवा उपलब्ध हुनेगरी ओम अध्याय रिसोर्टमा हाइकेयर रुम सुरु गरिएको थाहानगर प्रमुख लवशेर बिष्टले जानकारी दिनुभयो ।
यसअघि कोरोना पुष्टि भएका संक्रमितलाई एम्बुलेन्समा राखेर हेटौंडास्थित आइसोलेसन वार्डमा ल्याउने गरिएको थियो । ओम अध्यायमा ५ वटा हाइकेयर रुम तयारी अबस्थामा राखिएको छ भने २० वटा नर्मल क्वारेन्टाइन रुम छन् ।
थाहानगरको क्वारेन्टाइनमा बसेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटभ भेटिएका दुवै जनामा लक्षण देखिएको छैन । कोरोना पुष्टि भए पनि उनीहरुमा लक्षण नदेखिएको थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।
२३ वर्ष होइन, २३ महिना
हेटौंडा, (नेस)÷हेटौंडामा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा बिहीबार ५२ जनामा कोरोना पुष्टि भएको थियो । दुई चरणमा कोरोना पुष्टिको विवरण सार्वजनिक गर्दा पछिल्लो चरणमा २३ महिने एक बालिकामा पनि कोरोना पुष्टि भएको छ ।
बिहीबार साँझ सार्वजनिक गरिएको विवरणमा मकवानपुरगढी गाउँपालिकाकी २३ महिनाकी बालिका रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताउनुभयो । गढीका २ जनामध्ये एक बालिका रहेकी हुन् । विवरणमा लेखाइएमा त्रुटि भएको भन्दै २३ वर्षको नभएर २३ महिनाको हुनुपर्ने उहाँले बताउनुभयो ।
ती बालिका मकवानपुुरगढी गाउँपालिका वडा नम्बर–३ मा यसअघि देखिएको कोरोना पोजेटिभ परिवारको नै रहेको चौलागार्इंले बताउनुभयो । बिहीबार हेटौंडा नगर, अन्य स्थानीय तह, नेपाल प्रहरी र अन्य जिल्लाका गरी ५२ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्