कोरोना त्रासले पाटन दरबार क्षेत्र सुनसान



नेपाल समाचारपत्र, ललितपुर
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बिहीबार बेलुका ललितपुरमा भीमसेन महाराजको जात्रा भएन ।
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा रहेको छ । पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक भीमसेन मन्दिरको सबैभन्दा माथिल्लो तलामा रहेको भीमसेनको मूर्तिलाई शृंगार गरी धातुको विशेष खटमा राखेर नगर परिक्रमा गराउने गर्दछ ।
यस वर्ष भीमसेन जात्रा नमनाउने निर्णय गरिएको मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराजा श्रेष्ठले जानकारी दिनुभयो । ‘काठमाडौं उपत्यकाका अरु जिल्लासंगै ललितपुरमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । कतिको मृत्यु भइसकेको छ । यसले गर्दा नगरको प्रसिद्ध एवं उपत्यकाका रोमाञ्चकारी भीमसेन महाराज जात्रा नमनाउने निर्णय गरेका हौं’ –उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
भीमसेन महाराजको जात्रा मंगलबजारबाट शुरु हुने गर्दछ । त्यसपछि हःखा, सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल बगलामुखी, कोबहाल, स्वठँ हुँदै मंगलबजार पुगेर समापन हुने गर्दछ । बासनादार धुप बालेर प्रत्येक टोलबासीले विशेष महत्व राखेर भीमसेनलाई स्वागत गर्छन् ।
जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रापछिको दोस्रो ठूलो जात्राको रुपमा लिइने यसको जात्रा नभएको पाटन दरबार क्षेत्र सुनसान देखिन्थ्यो ।
यस जात्रालाई नेपाल भाषामा भिंद्यः जात्रा पनि भनिन्छ । भिंद्यः अर्थात् असल देवता । नेपाल भाषामा ‘भिं’ भनेको असल र राम्रो र ‘द्यः’ भनेको देवता हो । धेरैले भिंद्यः र भीमसेनलाई एउटै माने पनि यी दुवै एकै देवता नभएको संस्कृतविद् ओम धौभडेलले बताउनुभयो । संस्कृतिविद् धौभडेलले भन्नुभयो– ‘नेवारहरुले पूजा गर्ने देवता भीमसेन नभएर भिंद्यः हो । भिंद्यःको कुनै आकृति नहुने भएकाले महाभारतको भीमसेनलाई नै कालान्तरमा भिंद्यः मानिएको हो ।’ अहिले पनि पुराना भीमसेन मन्दिरहरुमा राखिएको देवताको आकृति हुँदैन । त्यहाँ ढुङ्गा मात्र राखिएको हुन्छ । उदाहरणको रुपमा दोलखाको भीमसेन मन्दिरलाई लिन सकिने धौभडेलले बताउनुभयो ।
भिंद्यःको आकृति खोज्ने क्रममा पाटनका राजा श्रीनिवास मल्लले कलाकारहरुलाई भीमसेनको आकृति बनाउन सुझाव दिनुभएको थियो । श्रीनिवास राजा सिद्धिनरसिंह मल्लका छोरा हुनुहुन्छ । तर कलाकारले उक्त रुप बनाउन असमर्थ हुँदा श्रीनिवास निकै क्रोधित हुनुभएछ । त्यही क्रोधित अर्थात् रौद्र मुद्रालाई कलाकारहरुले भीमसेनको अवतारका रुपमा उतारेको धौभडेलले बताउनुभयो । पाटनको भीमसेन मन्दिरमा स्थापना गरिएको मूर्ति तिनै राजाको रौद्र रुप मानिन्छ ।
जात्रामा प्रयोग हुने धातुको खट पनि अरु जात्रामा प्रयोग हुने खटभन्दा फरक छ । नेवाः समुदायले यस देवतालाई शुभ र शक्तिको प्रतीक मान्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्