ओली प्रचण्डबीच मन माझामाझ



काठमाडौं, (नेस)
पार्टीभित्र विवाद देखिएपछि टुटेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक सातापछि पुनः संवाद सुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीको जारी स्थायी समिति स्थगित गरेका भए पनि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । स्थायी समिति बैठक राख्ने÷नराख्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न नसक्दा जारी संवाद समेत टुटेको थियो । तर आइतवार अध्यक्षद्वय ओली र प्रचण्डको बीचमा तीन घन्टा मन माझामाझ भएको छ ।

पार्टी एकतालाई थप सुदृढ गर्ने गरी दुई अध्यक्षबीच कुराकानी भएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुई अध्यक्षको बीचमा निकै सौहार्दपूर्ण रुपमा छलफल भएको छ, संवादको थालनी भएको सोमवार पनि पुनः छलफल हुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी हुनुएको थियो । तीन घण्टा छलफल भए पनि दुवै अध्यक्षले पूर्ववत् अडान नै दोहो¥याउएको बताइएको छ । तर कुराकानीमा दुवै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएका छन् ।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो । ओली पक्ष सहभागी नभएको गत मंगलवारको स्थायी समिति बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिएको थियो । दुई अध्यक्षको बीचमा संवादको थालनी गर्न प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड निवास खुमलटार पुगेर संवाद गरेका थिए ।

शनिबार अध्यक्ष प्रचण्डले पार्टी एकता कुनै पनि हालतमा बचाउनुपर्ने भन्दै अहिलेको विवाद पदका लागि नभई पद्दतिका लागि भएको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोडने विगत एक महिनादेखि ओलीलाई दबाब दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्