आज जितेमा युभेन्ट्स लगातार नवौँ पटक च्याम्पियन



एजेन्सी । आज राति हुने म्याचमा साम्प्डोरियालाई हराएर स्पष्ट तीन अंक जोडेमा युभेन्ट्स लगातार नवौ पटक इटालियन सिरी ए च्याम्पियन बन्नेछ ।

इटालीको शिर्ष डिभिजनको फुटबल सिरी ए मा आज राति लिग लिडर युभेन्ट्सले घरेलु मैदानमा १४औं स्थानको साम्प्डोरियाको सामना गर्दैछ । नेपाली समय अनुसार राति १स्३० बजेबाट एलियान्ज रंगशालामा हुने सो खेल लिग लिडर युभेन्ट्सका लागि उपाधि जित्नका लागि निर्णायक समेत हुनेछ । माउरिसियो सार्रीको नेतृत्वमा युभेन्ट्स आज पहिलो उपाधि जित्ने दाउमा छ ।

यसअघिकै खेलबाट युभेन्ट्स च्याम्पियन बन्न सक्ने भए पनि उडिनेसेसँग अप्रत्यासित रुपमा २(१ ले पराजित भएका कारण आजको खेल पर्खिनु परेको हो । यदि आज आफ्नो घरमा साम्प्डोरियलाई हराउन सके युभेन्ट्सलाई उपाधि जितको उत्सव पनि घरेलु मैदानमा नै मनाउने अवसर जुर्नेछ ।

युभेन्ट्स हाल ३५ खेलपछि ८० अंकसहित शीर्ष स्थानमा छ । युभेन्ट्स एक खेल बढी खेलेको दोस्रो स्थानको नापोलीभन्दा स्पष्ट ४ अंकले अघि छ । युभेन्ट्सलाई उपाधि जित्न अब मात्रै एक जित आवश्यक छ । आज साम्प्डोरियामाथि जित निकाल्न सके युभेन्ट्सले मिलानलाई ७ अंकले पछि पार्दै अन्तिम २ म्याच खेल्न अगावै उपाधि जित्नेछ ।

आजको खेलमा युभेन्ट्सका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो चर्को दवाबमा हुनेछन् । लिगका अन्तिम ३ खेलबाट गोल्डेन बुट जित्ने दौडमा रहेका उनले आजको खेलमा सकेसम्म धेरै गोल गर्नु पर्नेछ । हाल लाजियोका सिरो इम्मोबाइल ३१ गोलसहित रोनाल्डोभन्दा अगाडी छन् । रोनाल्डोले ३० गोल गरेका छन् । गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की ३४ गोलसहित शीर्ष स्थानमा रहेको छन् ।

३५ वर्षीय रोनाल्डो बाँकी ३ खेलबाट सकेसम्म धेरै गोल गरेर सिरोलाई उछिन्दै लेवान्डोस्कीबाट गोल्डेन बुट खोस्ने दाउमा छन् । यसअघिको खेलमा उनी गोलविहीन बन्दा उनलाई सिरोले पछि पारेका हुन् । सिरो र रोनाल्डो दुवैले अब ३–३ खेल खेल्न बाँकी छ । आज युभेन्ट्सले साम्प्डोरियासँग खेल्नुअघि लाजियोले अवे मैदानमा भेरोनासँग खेल्दैछ । यदि सो खेलमा सिरोले गोल गरेमा रोनाल्डोमाथि झन् दबाब थपिनेछ ।

लाजियोको खेलपछि आजै राति युभेन्ट्सको खेल हुनेछ ।आजको खेलमा युभेन्ट्सका प्रशिक्षक माउरिसियो सार्रीले पहिलो रोजाइका खेलाडी उतार्ने छन् । आज घरेलु मैदानमा उत्रिँदा युभेन्ट्सको टोलीमा फरवार्ड लाइनमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालासहितका खेलाडी हुनेछन् । यसअघि प्रतिबन्धमा परेका कप्तान बोनुची आज टोलीमा फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्