नेपालमा पर्यटनको अधिक सम्भावना



काठमाडौंलाई प्रशासनिकलगायत अन्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्नुपर्ने भएको हुनाले पोखरा, चितवन, सोलुखुम्बु, इलाम, मुस्ताङलगायतका ठाउँलाई पर्यटनको हबको रुपमा विकसित गर्नुपर्छ । पूर्व, पश्चिम, हिमाली क्षेत्र, कर्णाली क्षेत्रलगायतका ठाउँमा हब–सब स्थापना गरी सोही अनुसारको वातावरण र पूर्वाधार निर्माण गर्नुपर्छ ।

त्यसै गरी पदयात्रा मार्गहरु जोगाउने र वैकल्पिक पदयात्रा मार्गहरुको खोज, पहिचान, ग्रामीण क्षेत्रसम्म पुग्ने यातायात सञ्चालन र विकासमा स्पष्ट नीति आउनुपर्छ । पर्यटकहरुको आगमन संख्या, बसाइको अवधि, प्रतिपर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र वस्तुहरुको वैज्ञानिक विविधीकरण तथा स्थानीय कला, साहित्य, धर्म, संस्कृतिको संरक्षण एवम् विकास गर्दै विश्व पर्यटन बजारमा बजारीकरण गर्नुपर्छ भने दक्ष जनशक्ति विकासमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

सरकारको तर्फबाट नीति निर्माण र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ भने निजी क्षेत्रको तर्फबाट गुणस्तरीय सेवा दिने र व्यवस्थापनमा विशेष ध्यान जानुपर्छ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र पर्यटन उद्योग हो । देशको अस्थिर राजनीतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो ।

निश्चितरुपमा पर्यटन उद्योगको विकासका लागि पर्यटनसँग सम्बन्धित व्यावसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार, संरक्षण र प्रवद्र्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन । आजको कडा प्रतिस्पर्धाको जमानामा सम्बन्धित क्षेत्रहरुको योगदानका साथै ब्यापक प्रचारप्रसार तथा बजार व्यवस्थापनको उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।
– सरु सुवेदी, कास्की ।

 

प्रतिक्रिया दिनुहोस्