वाह क्या फूर्ति !



अनगिन्ती उकुसमुकुस भावनाहरु मौन मनमा राखेर जिउनुपर्ने जीवनको एक पाटो हो । खै हावाको यात्रा लेखेको रहेनछ जिन्दगीमा । आफ्ना मान्छे सहकर्मी साथीहरु प्लेनको यात्रा, सुटकेट गुडाउँदै अवतरण, सेन्टको गन्ध, हातमा सुनको बास्रलेट अनि विदेशका कथाहरु बोकेर आउँदा यो मनको कुनै कुनामा नैरास्यता, आत्मग्लानि र कमजोर महसुस हुने गर्दछ ।

भेटघाटमा भएका कुराकानीमा शहरमा बनाएको घर, यसपटक घडेरी किन्ने कुरा अनि बैक ब्यालेन्सका कुराले घरी–घरी सबै सर्टिफिकेट च्यातेर विदेश जाऊँ–जाऊँ लाग्दो रहेछ । विदेश गएको एक वर्षमा नै आफूले विदेश नै किनेझैँ गरी बोल्न छोड्ने अनि उहाँहरुको कुराहरु क्या बात त्यहाँ पो रहेछ स्वर्ग ! भन्ने लाग्न थालेको छ । खै आफू त पलेन नचढेको मान्छे, बर्गर र वाइन नचाखेकोले सुन्ने मात्र त हो अनि टाउको हल्लाउँदै मौन स्वकृति दिनेबाहेक के गर्न सक्छु र ?

‘बाबुको घर कहाँ प¥यो कुन्नि, कता–कता चिनेकोझैँ मान्छु’, एकजना ७० वर्ष जतिको बुबाले सोध्नुभयो । अनि मैले जवाफ दिएँ– ‘खै हैन होला ।’ उहाँलाई साँच्चिकै चिनेको थिइन, म र मेरो साथी अफिसको डकुमेन्टको कामले रामपुरको इलाका प्रशासन कार्यालयमा थिएम् । ‘हेर्नुस् बाबु, मेरो घर यहीँ नजिकैको एउटा गाउँमा हो । मेरो घर खैरेनीमा पनि छ । आज जान्न भनेको, छोरीले हुँदै हुँदैन बुबा जानै पर्छ, पासपोर्ट बनाएर आउनुहोस् भनेर छोरीकै कारमा के बाबु अगाडिको सिटमा बसेर आएको बाबु । जान्न भनेको छोरीले कर गर्छे, नाइँ भन्न नसकेर के बाबु आएको म ।’

बुबाले आफ्नै तालले कुरा गर्दै जानुभएको छ । मैले र साथीले टाउको हल्लाउँदै मौन स्वीकृत गर्दै थिएम् अनि कुरा थप्दै जानुभयो– ‘एउटा छोरी अस्ट्रेलिया छ, एउटी अमेरिकामा छन् । हेर्नुुस् बाबु दुईवटै छोरीको घर बुटवलमा छ । अहिले कान्छीचाहिँ अस्टे«लियाबाट आएकी छ । उसैसँग घुम्न जानलाई पासपोर्ट बनाउन आएको ।’
प्रत्येक शब्द र बोलीमा डलरको गन्ध, सम्पन्न्नको संकेत मनमनै महसुस गर्दै साथीको अनुहारको भावना हेर्दै थिएँ मैले । मोटरसाइकलमा ४ घण्टा लगाएर धुलैधूलो, थोत्रो, च्यातिन लागेको झोला, झोलाभित्र एउटा पुरानो गरुङ्गो ल्यापटप अनि सामाजिक कार्यक्रर्ता र स्वदेशमै काम गरेको छु भन्ने मन बोकेको एउटा लाचार मानव जब । बुबाको ती कुरा सुन्दा लल्याकलुलुक भएर स्वदेशमै बसी काम गर्ने मन भाँचिएर गयो । काम सकियो, बुबाको काम अझै बाँकी नै थियो अनि दुई हात जोडेर भनें– ‘बुबा, राम्रोसँग पासपोर्ट बनाएर विदेश घुम्नुहोला ।’ यति भन्दै आफ्नो सधैँका दिनझैँ गन्तव्यतिर लागें ।

लकडाउन भएको १०४ औ दिनका दिन औषधि लिन भनी हस्पिटल गएको थिएँ । त्यहाँ एकजना अर्धबैंसे महिला औषधि लिने लाइनमा हुनुहुन्थ्यो । म पनि औषधि लिनको लागि त्यहाँ राखेको कुर्सीमा पालो कुर्दै बसें । अर्को अर्धवर्ष पुरुषसँग कुरा गर्दै ती महिलाले भन्नुभयो– ‘यो कस्तो खालको रोग आयो, सबैलाई घर बसाल्नी ।’ त्यहाँ हामी ५–६ जना मात्र थिएम् । हामी सबैको मुखमा माक्स थियो । त्यसैले कस्तो अनुहारको हुनुहुन्थ्यो चिन्न सकिन तर मैले चिनेकै गाउँको नाम लिनुभयो । उहाँको परिचय दुवै जनाको कुराकानीबाट मौनरुपमा सुन्दै थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो– ‘मेरो छोरा पनि फिनल्यान्डमा छ, अहिलेसम्म त खतरा छैन बरु हजुरहरु सुरक्षित तरिकाले बस्नुहोला भन्छ । त्यहाँ त सामान सकिए घरमा नै ल्याइदिन्छ रे, काम गर्ने ठाउँमा आउन पर्दैन भनेको छ रे ! सरकारले पनि पैसा दिएको छ रे ! अनि काम गर्ने ठाउँले काममा नगए पनि पैसा खातामा राख्देको छ रे ! रोग नै फैलिए पनि, लागे पनि विदेश भनेको विदेश नै हो ।’

उहाँ फूर्तिका साथ यस्ता कुरा व्यक्त गर्दै हुनुहुन्थ्यो । उहाँ आफूलाई रोग लागेको औषधि लिन आएको, संसारभरि यस्तो महामारी रोग फैलिएको, छोरो परिवारबाट टाढा भएको भन्दा पनि सम्पन्न राष्ट्रमा छोरा भएकोमा शान थियो । अनि म भने सोच्दै थिएँ– शायद मेरो आफन्त र अन्यझैँ म पनि विदेश भएको भए मेरो परिवारको पनि शान बढ्ने थियो होला अनि उहाँहरुको कुराकानी पनि यस्तै हुन्थो होला । मैले मेरो परिवारको लागि शानको मौका गुमाएको महसुस गर्दै जय विदेश वा क्या फूर्ति भन्दै घरतिर लागेँ ।
– दिनेश घिमिरे
तानसेन–८, पाल्पा

 

प्रतिक्रिया दिनुहोस्