रंगेहात पक्राउ परेका जैशी अझै गोदावरीकै प्रशासकीय अधिकृत ?



न्युज अफ नेपाल, ललितपुर ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी सोमबार सेवाग्राहीसँग घुस लिएको अबस्थामा आफ्नै कार्यकक्षमा रंगेहात पक्रिए । उनलाई सोही दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिरासतमा लिइसकेको छ ।

उनी सहित सब इन्जिनियर किशोरकुमार मोक्तान डेढ लाख रुपियाँ घुस लिँदा लिँदै पक्राउ परेका थिए । सेवाग्राहीसँग घुस लिँदालिदै रंगेहात पक्राउ परेपछि उनी स्वतः निलम्बनमा परेका छन् । तर गोदावरी नगरपालिकामा भने उनी अझै पनि प्रमुख प्रशासकीय अधिकृतकै हैसियतमा छन् ।

उनी पक्राउ परेको तीन दिन नाघिसक्दा समेत उनको कोठामा रहेको उनको नाम अंकित प्लेट हटाईएको छैन भने उनको पद र नाम नगरको आधिकारीक वेबसाईटमा अझै छ । उनीसँगै रंगेहात पक्राउ परेका सब इन्जिनियर किशोरकुमार मोक्तानलाई पनि वेबसाइटमा कर्मचारीकै हैसियत कायम राखेको छ । अझै हटाईएको छैन ।

यस विषयमा नगरपालिकाका प्रवक्ता मिलन सिलवालसँग जिज्ञासा राख्दा उहाँले रंगेहात पक्राउ पछि कर्मचारी स्वतः निलम्बनमा पर्ने र उसको हैसियत नगरपालिकामा नरहने भन्दै तुरुन्त नेमप्लेट र वेबसाइटमा संशोधन हुने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्