सुरुङ फुटेर बेपत्ता चालकका परिवारलाई अन्तिम सँस्कार खर्च



न्युज अफ नेपाल, काठमाडौं ।
परीक्षणको क्रममा सुरुङको गेट फुटेर त्यसबाट उत्पन्न बाढीले बगाई बेपत्ता हुनु भएका सवारी चालक राधाकृष्ण थापाका परिवारलाई तत्काल अन्तिम सँस्कारका लागि राहत रकम उपलब्ध गराएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोले बेपत्ता चालक थापाका परिवारलाई एक लाख रुपियाँ रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले उक्त रकम तत्काल अन्तिम सँस्कारका लागि उपलब्ध गराईएको जनाएको छ । कम्पनीले असार २१ गते सुरुङ परीक्षण थालेको थियो । उक्त सुरुङ परीक्षण गर्ने क्रममा असार ३० गते सुरुङको गेट एक्कासी फुटेर त्यसबाट आएको बाढीले चालक थापाको टोलीलाई बगाएको थियो ।

टोलीमा आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङको सकुशल उद्धार गरिएको थियो । भने चालक थापा र इन्जिनियर सतीस गोइत भने बेपत्ता हुनुहुन्थ्यो । उद्धार हुनु भएका दुबैलाई काठमाडौं ल्याई उपचार गराईरहेको छ भने बेपत्ता थापा र गोइतको भने तत्कालै प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी कार्य थाले ।

खोजी तथा उद्धारकै क्रममा इन्जिनियर गोइतको शव बाहुने पाटी नजिकै फेला परेको थियो । गोइतको शव प्रकृया पु¥याएर परिवारको जिम्मा लगाईसकेको छ । तर बेपत्ता चालक थापा भने अझै बेपत्तै हुनुहुन्छ । दुई दिनदेखि उहाँको उद्धार कार्य पनि लगभग रोकिसकेको अबस्था छ ।

प्रहरी कार्यालय मेलम्चीले उहाँको उद्धार कार्य रोकेको जनाएको छ । यता आयोजनाले भने अविरल वर्षा र मेलम्चीको बढ्दो प्रवाहमा दिनहरू बित्दै जाँदा उहाँको खोजी प्रभावित भएको जनाएको छ । आयोजनाले स्थानीय प्रहरी प्रशासनले खोजी जारी राख्ने भनेको छ । बेपत्तापछि मृत्यु हुनु भएका इन्जिनियर गोइत र बेपत्ता सवारी चालक थापाको बीमा रकम भुक्तानीका लागि प्रकृया अघि बढाउने उहाँहरु कार्यरत कम्पनी सिनोहाइड्रोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्