प्रिमियर लिगमा रहन ३ टोलीबीच होड



लन्डन, (एजेन्सी)

तीन अंकको भिन्नतामा रहेको ३ टोलीबीच प्रिमियर लिगमा रहन रोमाञ्चक होड लागेको छ । यी तीन टोलीमा एक टोली मात्रै प्रिमियर लिगमा रहनेछ बाँकी दुई टोलीले रेलिगेसनको बाटो लिनेछन् । आइतबार प्रिमियर लिग सिजनको क्लाइमेक्स चल्नेछ र तय पनि हुनेछ कुन टोली प्रिमियर लिगमा रहने र नरहने ।

नर्विच सिटी त पहिल्यै पुछारमा रहेर अर्को सिजनमा च्याम्पिनसिपमा खेल्ने भएको छ । बाँकी रह्यो एस्टन भिल्ला, वाटफोर्ड र बर्नमाउथ । यीमध्ये दुई टोलीले नर्विचकै जस्तो रेलिगेसनमा पर्नेछन् । मंगलबार राति एस्टन भिल्लाले आर्सेनललाई १–० ले हराएर पाँच महिनापछि पहिलो पटक रेलिगेसन जोनबाट बाहिर निस्क्यो । यसमा वाटफोर्डको म्यानचेस्टर सिटीसँग ४–० को हार पनि कारक बन्यो । वाटफोर्ड अहिले रेलिगेसन जोनमा झरेको छ ।

भिल्ला र वाटफोर्डको समान ३४ अंक छ । जबकी बर्नमाउथको ३१ अंक छ । आइतबार हुने खेलमा यी टोलीहरुले समान अंकमै सकाएमा गोल भिन्नताको आधार लिनेछ । एस्टन भिल्ला माइनस २६ तथा वाटफोर्ड र बर्नमाउथ माइनस २७ को गोलभिन्नता छ ।

एस्टन भिल्लाको पछिल्ला ५ खेलको प्रदर्शन हेर्ने हो भने दुई जित र दुई हार रहेको छ । एउटा खेल बराबरीमा सकिएको छ । एस्टन भिल्लाको भाग्य वाटफोर्डको अन्तिम खेलले पनि तय गर्नेछ । एस्टन भिल्लाले गत समरमा १५० मिलियन पाउन्ड खर्च गरेको थियो । तर यसको बावजुद खतरा जोनमा रहेको छ ।

वाटफोर्डको अघिल्ला ५ खेलको प्रदर्शन त्यति राम्रो छैन । तीन खेलमा हार र दुई खेलमा जित हात पारेको छ । वाटफोर्डले कमसेकम २–० गोलअन्तरले जित हात पार्नुपर्छ । यदि जितेमा वाटफोर्डलाई रेलिगेसन जोनबाट सुरक्षित पार्नेछ । तर आर्सेनलविरुद्ध यस्तो नतिजा निकाल्न कठिन कार्य नै हो ।

बर्नमाउथको पनि पछिल्ला ५ खेलको प्रदर्शन सन्तोषजनक छैन । तीन हार, एक बराबरी र एक जित रहेको छ । एभर्टनसँग अन्तिम खेलमा जित हात पारेमा पनि निकै ठूलो अन्तर हुनुपर्छ । भिल्ला र वाटफोर्डले पनि नराम्रोसँग हार्नु प¥यो । यो नतिजा आएमा बर्नमाउथ भाग्यमानी नै हुनेछ । यस सिजनको प्रिमियर लिगमा बर्नमाउथ धेरै खेलमा हार्ने नर्विचपछि दोस्रो टोली हो ।

प्रतिक्रिया दिनुहोस्