सानदार जितसँगै लिभरपुलले ट्रफि उचाल्यो



एजेन्सी ।

इङ्गलिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा सानदार जितसँगै लिभरपुलले ट्रफी उचालेको छ । एन्फिल्डमा चेल्सीलाई ५–३ ले हराउदै लिभरपुलले प्रिमियर लिगको ट्रफि उचालेको पललाई अझै रोमाञ्चक बनाएको छ ।

अवे खेलमा न्युक्यासल युनाइटेडसँग खेल्न बाँकी रहे पनि लिभरपुलले प्रिमियर लिग ट्रफी चेल्सीसँगको खेलपछि पाएको थियो । घरेलु मैदानमा सानदार जितसँगै लिभरपुलले ट्रफि समारोहलाई थप रोमाञ्चक बनाएको थियो । लिगको ३७औं चरणको खेलमा लिभरपुलले पाहुना टोली चेल्सीलाई आफ्नो घरेलु मैदानमा ५–३ गोलअन्तरले स्तब्ध बनायो ।

हारपछि शीर्ष चारमा रहेर सिजन पूरा गर्ने चेल्सीको लक्ष्यमा थप चुनौती थपिएको छ । आफ्नै नतिजाले शीर्ष चारमा रहेर सिजन सिध्याउन चेल्सीले अब अन्तिम खेलमा उल्भ्सलाई स्पष्ट अन्तरमा हराउनुपर्ने हुन्छ । यता, लिगको अन्तिम खेलमा हाल तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र पाँचौं स्थानको लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको अन्तिम चारको यात्रालाई निर्भर गर्नेछ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनेक्रममा ५ जना फरक–फरक खेलाडीले गोल गरे । घरेलु टोलीले खेलको २३औं मिनेटमा नाबी केइटाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ३८औं मिनेटमा लिभरपुलका लागि ट्रेन्ट एलेक्सन्डर अर्नोल्डले दोस्रो गाल गरे । फेरि खेलको ४३औं मिनेटमा जर्जिन्हो विज्नाल्डुमले गोल गरेपछि लिभरपुल ३–० को अवस्थामा पुग्यो ।

तर, पहिलो हाफको थप समयमा चेलसीका लागि ओलिभर जिरुउडले गोल गरेर खेल ३–१ मा झारे । त्यसपछि दोस्रो हाफमा फेरि लिरभपुलले गोल थप्यो । खेलको ५५औं मिनेटमा रोवर्ट फर्मिन्होले गोल गरेपछि लिभरपुल ४–१ मा पुग्यो । यता खेलको ६१औं मिनेटमा चेल्सीका लागि युवा खेलाडी टमी अब्राहमले गोल गरे भने ७३औं मिनेटमा क्रिस्टिएन पुलिसिचले गोल गर्दै खेललाई ४–३ मा छोट्याए ।

तर, त्यसपछि चेल्सीले पोस्ट जोगाउन सकेन । खेलको ८४औं मिनेटमा एलेक्स ओक्सलाडे–च्याम्बर्लिनले गोल गरेपछि खेल लिभरपुलले ५–३ ले जित्यो । अब यो जितपछि लिभरपुलले ३७ खेलबाट कूल ९६ अंक जोडेको छ । पराजित चेल्सी ६३ अंकसहित चौथो स्थानमा छ । ७८ अंक भएको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक भएको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्