रोनाल्डोको दुर्लभ कीर्तिमान



मिलान, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ए, स्पेनी ला लिगा र इंग्लिस प्रिमियर लिगमा ५० गोल गर्दै दुर्लभ कीर्तिमान रचेका छन् ।

सोमबार राति सिरी ए अन्तर्गत् खेलमा युभेन्टस्ले लाजियोलाई २–१ ले हराउँदा दुबै गोल रोनाल्डोले गरेका हुन् । रोनाल्डोले युभेन्टसका लागि ५१ गोल गरेका छन् । यो सँगैं उनले युरोपका तीन प्रमुख लिगमा ५० गोल गर्ने कीर्तिमान राखे । उनले प्रिमियर लिग, स्पेनी ला लिगा र सिरी ए मा ५० गोल गर्ने पहिलो खेलाडी समेत बन्न सौभाग्य प्राप्त गरे । सिरी ए मा ५० गोल गर्ने उनी शताब्दीकै छिटो खेलाडी समेत बनेका छन् । उनले ६१ खेलबाट ५० गोल गरेका हुन् ।

यो जितसँगैं अंकतालिकाको शीर्ष टोली युभेन्टस्ले दोस्रो स्थानको इन्टरमिलानसँग ८ अंकको अग्रता बनाएको छ । यदि यो उपाधि जित्यो भने युभेन्टस लगातार नवौं पटक लिग विजेता बन्नेछ । उपाधि हासिल गर्न टोलीका लागि ४ अंकको मात्रै आवश्यक छ ।

रोनाल्डोले ५१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई १–० को अग्रतामा राखेका थिए । यो उनको सिरी ए मा १२औं पेनाल्टी गोल हो । यसको तीन मिनेटमै उनले पाउलो डिबालाको क्रस सदुपयोग गरेपछि युभेन्टस् २–० को अग्रतामा रहेको थियो । यद्दपि लाजियोका सिरो इम्मोबाइलले पेनाल्टीमार्फत् गोल गरेपनि त्यो सान्त्वना मात्रै भएको थियो । उनको पनि यो १२औं पेनाल्टी गोल हो । लाजियो यो हारसँगै चौथो स्थानमा रहेको छ ।

सिरी ए को यस सिजनमा रोनाल्डो र इम्मोबाइले समान ३० गोल गरेका छन् । यी दुई खेलाडी गोल्डेन बुट हात पार्ने दौडमा छन् । चार चरणका खेल अझै बाँकी छ । यदि रोनाल्डोले जिते भने उनी १२ वर्षपछि गोल्डेन बुट जित्ने पहिलो युभेन्टस्का खेलाडी बन्नेछन् । यसअघि २००७–०८ सिजनमा एलेसान्ड्रो डेल पिइरोले गोल्डेन बुट जिते यता युभेन्टसका कोही खेलाडीले पनि सो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्