इंग्ल्यान्ड सिरिजमा फर्क्याे



लन्डन, (एजेन्सी)

इंग्ल्यान्डले ओल्ड ट्राफोर्डमा भएको दोस्रो टेस्ट नाटकीय ढंगले जितेर वेस्ट इन्डिजविरुद्धको ३ खेलको टेस्ट सिरिजमा फर्केको छ ।

सोमबार अन्तिम दिन घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो । यो जितसँगैं ३ खेलको टेस्ट सिरिज १–१ बराबरीमा पुगेको छ । यसले गर्दा तेस्रो टेस्ट निर्णायक बन्ने तय भएको छ । तेस्रो टेस्ट शुक्रबारदेखि शुरु हुनेछ । पहिलो टेस्ट पाहुना टोली वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो ।

इंग्ल्यान्डले ३ सय १२ रनको लक्ष्य दिएकोमा वेस्ट इन्डिज १ सय ९८ रनमै अलआउट भएको थियो । वेस्ट इन्डिजका ब्याट्सम्यान शामरह ब्रुक्सले ६२ रन र जेर्मिने ब्लाकवुडले ५५ रन बनाएपनि जित दिलाउन सकेनन् । उनीहरु आउट हुनु नै वेस्ट इन्डिजका लागि हार तय भएको थियो ।

त्यस्तै कप्तान जेसन होल्डरले ३५ रनको योगदान दिए । इंग्ल्यान्डको तर्फबाट स्टुआर्ट ब्रोडले ३ विकेट लिए भने डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २/२ विकेट लिएका थिए ।

यसअघि इंग्ल्यान्डले ३ विकेटको क्षेतिमा १ सय २९ रनमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । जसमा स्टोक्सले ५७ बलमा ७८ रन बनाएका थिए । वेस्ट इन्डिजलाई ८५ ओभरमा ३ सय १२ रन बनाउनुपर्ने लक्ष्य तेर्सिएको थियो । तर ब्रोडले १ रन दिएर ३ विकेट लिएपछि वेस्ट इन्डिजको जवाफी ब्याटिङ निकै कमजोर भएको थियो ।

वेस्ट इन्डिजले ३७ रनको योगफलमै ४ विकेट गुमाउन पुगेको थियो । ब्लाकवुड र ब्रुक्सले शतकीय साझेदारी गरेर ब्याटिङ उकास्ने प्रयास गरे । तर स्टोक्सले शर्ट बलमा ब्लाकवुडलाई पवेलियन फर्काएका थिए । यसपछि आएका कप्तान होल्डर पनि धेरै बेर टिक्न सकेनन् । उनलाई बेसले आउट गरेलगतै इंग्ल्यान्डले जितको गन्ध पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्