खुसी रहने कुरा साट्दै कोरोनामुक्त जोकोभिच



एजेन्सी ।

कोरोना संक्रमणमुक्त भएका सर्बियाली विश्व वरियताका शीर्ष टेनिस स्टार नोभाक जोकोभिचले खुसी रहने कुरा साटेका छन् । उनले भने,–“त्यो मान्छे नै हुन् जसबाट धेरै गल्ती हुने गर्छ । यस्तो हुनुको कारण अरु केही होइन, स्वयम् आफै नै हो र आफैमा सुधार आवश्यक छ । हामीले वर्तमानलाई अँगाल्नु पर्छ र खुसी हुनुपर्छ ।”

जोकोभिचले गत महीना एड्रिया टूर च्यारिटी टेनिस प्रतियोगिता आयोजना गरेका थिए । त्यसक्रममा उनले एउटा नाइट क्लबमा पार्टी पनि गरेका थिए । त्यसपछि जोकोभिचसहित उनका पत्नी र अन्य तीन जना खेलाडीहरुमा कोरोना संक्रमण भएको थियो । उपचारार्थ उनीहरु सबैको जुलाईको पहिलो साता लिइएको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

लगातारको आलोचनापछि जोकोभिचले च्यारिटी प्रतियोगिता आयोजना गरेका कारण माफी मागेका थिए । उनले भने,–‘‘म माफी माग्छु, यो सबै हामीले प्रतियोगिता आयोजना गरेका कारण भएको हो । खेल प्रतियोगिताहरु हेल्थ प्रोटोकल र गाइड लाइन्सअनुसार भइरहेको ठानेर हामीले पनि प्रतियोगिता आयोजना गरेका थियौं तर हामी गलत सावित भयौं । हामीले हतार गरेका रहेछौ ।’’

ठीक भएपश्चात् जोकोभिच प्रशिक्षणमा पनि फर्किसकेका छन् । प्रशिक्षणमा फर्केको एउटा भिडियो नोभाक जोकोभिच सेन्टरका हेड कोच बोरिस बोस्जान्कोभिचले इन्स्टाग्राममा शेयर गरेका थिए ।

आगामी ५ वर्षमा जोकोभिच आफूलाई कहाँ देख्न चाहनुहुन्छ भनेर मिडियासँगको अन्तरवार्तामा सोधिएको प्रश्नमा उनले भने,–‘‘वास्तवमा मलाई थाहा छैन । मेरो केही लक्ष्य छ । तर, त्यसको बारेमा धेरै सोच्दिन । म खाली वर्तमानमा बाँच्न रुचाउँछु र भूत र भविष्यको बारेमा सोच्दिन । म सधैं मेहनत गर्न मन पराउँछु । आगामी पाँच वर्षमा म धेरै खुसी र सफल महसूस गर्न चाहन्छु ।’’

जोकोभिच यति ठूलो कसरी बन्यो भनेर गरिएको प्रश्नमा उनले भने,–“हरेक व्यक्ति आफैमा ओरिजनल हुन्छ । कसैले अर्काको नक्कल गर्नु हुदैन । हो, तपाई आफैमा उत्कृष्ट बन्नलाई भने महान् र सफल व्यक्तिको नक्कल गर्न सक्नुहुन्छ । हरेक व्यक्तिलाई यस्तो गर्ने अधिकार पनि छ ।’’

जोकोभिच गत हप्ता मात्र परिवारसहित बोस्निया घुम्न गएका थिए । उनी अध्यात्मलाई धेरै मान्छन् । जोकोभिचले भने,–‘‘अध्यात्म आफैमा शान्ति खोज्ने सर्वश्रेष्ठ माध्यम हो । मलाई थाहा छ व्यक्ति जन्मबाट नै अध्यात्मिक हुन्छ र भगवानसँग जोडिरहन्छ ।’’

उनले रोजर फेडरर र राफेल नाडालबाट आफू प्रभावित भएको बताएका छन् । उनले भने,–‘‘रोजर र राफेलले जे जति गरेका छन् त्यो इतिहास हो । दुवैजना लेजेन्ड हुन् । उनीहरुबाट मलाई सधै प्रेरणा मिलेको छ । मैले यो कुरा लाखौ पटक भनिसकेको छु र भविष्यमा पनि भनि नै रहनेछु । म आज जुन स्तरको खेलाडी बनेको छु, उनीहरु दुवै जनाको कारणले हो । उनीहरुबाट मलाई सधैं सर्वोकृष्ट बन्न उर्जा मिलेको छ ।’’

जोकोभिचले यो वर्षको सुरुवातमा कीर्तिमानी आठौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । उनले फाइनलमा अस्ट्रियाका डोमिनिक थिएमलाई ६–४, ४–६, २–६, ६–३, ६–४ ले हराएका थिए । उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी सूचीको तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म १७ वटा ग्रान्डस्लाममा आफ्नो नाम लेखाईसकेका छन् । उनले ८ पटक अस्ट्रेलियन ओपन, ५ पटक विम्बलडन, एक पटक फ्रेन्च ओपन र ३ पटक यूएस ओपन जितेका छन् । २० वटा ग्रान्डस्लाम जितेका रोजर फेडेरर उक्त सूचीको पहिलो स्थानमा छन् भने १९ ग्रान्डस्लाम जितेका राफेल नाडाल दोस्रो स्थानमा छन् ।

जोकोभिचले यूएस र फ्रेन्च ओपन खेल्ने

जोकोभिचले यो वर्षको अन्तिमतिर हुने यूएस र फ्रेन्च ओपन खेल्ने इच्छा ब्यक्त गरेका छन् । यो वर्ष यूएस ओपन आयोजना हुने जानकारी पाएर धेरै खुसी लागेका उनले बताएका छन् । बिना दर्शक यूएस ओपन २४ अगस्तदेखि १३ सेप्टेम्बरसम्म हुनेछ । यूएस ओपन आयोजनाका लागि न्यूयोर्क गभर्नरले पनि स्वीकृति दिईसकेको छ । त्यसपछि २७ सेप्टेम्बरदेखि ११ अक्टुबरसम्म पेरिसमा पनि फ्रेन्च ओपन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्