नेपाल क्रिकेट संघका सात निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानको सोमबार सम्पन्न कार्यसम्पादन कमिटीको बैठकले विभिन्न सात निर्णय गरेको छ ।

बैठकले संघलाई आवश्यक प्रमुख प्रशिक्षक (हेड कोच), महाप्रबन्धक, वित्त प्रबन्धक, र क्रिकेट व्यवस्थापक पदका लागि पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको संघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसका लागि क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० सँग समन्वय गरी एक हप्ताभित्र सूचना प्रकाशित गर्नेछ । प्रादेशिक क्रिकेट संघ मातहत रहने गरी हाल ७ जना प्रशिक्षकहरुको पदपूर्तिको सूचना प्रकाशित गर्ने निर्णय गरिएको उक्त विज्ञप्तिमा भनिएको छ ।

संघले मुलपानी क्रिकेट मैदानलाई आवश्यक ६ जना मैदान कर्मचारी थप गरेको छ । संघले पोखरा, भैरहवा र वीरगञ्जमा एक एक जना क्रिकेट पिच क्युरेटर पनि नियुक्त गर्ने भएको छ । त्यसैगरी, संघको वार्षिक साधारण सभा भदौ १५ गते गर्ने निर्णय गरिएको छ।

बिक्रम न्यौपानेलाई राष्ट्रिय क्रिकेट टिमको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गरी उनलाई तत्कालको लागि अर्को निर्णय नभएसम्मको लागि टिमसँग सम्बन्धित विषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

प्रदेश समितिमार्फत् अन्य सदस्यहरु थप गर्नेगरी संघको केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको संघका सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्