विकल्पमा केन्द्रीय खेलकुद प्रतिष्ठान



हेटौंडा, (नेस)

बाग्मती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट उच्च सतर्कता अपनाउँदै आइसोलेसन कक्ष निर्माणका लागि गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानलाई विकल्पको रूपमा प्रयोग गर्ने भएको छ ।

हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठान (एकेडेमी) मा आइसोलेसन कक्ष राख्न प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको हो । हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको एक मात्र आइसोलेसन वार्डमा बिरामी नअट्ने समस्या भएको हुँदा विकल्पमा प्रतिष्ठानमा राख्न बाग्मती प्रदेश सरकारले अनुरोध गरेको जिल्ला खेलकुद विकास समितिका सचिव खुशराज दाहालले बताए ।

आइसोलेसन कक्षका विषयमा कार्यालयका तर्फबाट प्रदेशको अनुरोध सम्बोधन गर्दै प्रतिष्ठानमा रहेको होस्टल प्रयोगका लागि दिइने उनले जानकारी गराए। हालको अवस्थामा होस्टल प्रयोगमा नरहेका कारण आइसोलेसन वार्ड बनाउन दिने निर्णय उचित रहेको सचिव दाहालले बताए। यसका लागि प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमन गरिसकेको दाहालले बताएका छन् ।

होस्टलबाट करिब पाँच सय मिटर परको फुटबल मैदानमा ६ दिनदेखि दुबो रोपाइँ भइरहेको छ। बिरामीलाई आइसोलेसनमा राखिए पनि उक्त काममा कुनै बाधा नपुग्ने दाहालको भनाइ छ। हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले रंगशाला निरीक्षण गरेपछि कर्राको विद्यालयमा पठनपाठनमा सहजता प्रदान गर्नुपर्ने भएकोले रंगशाला निरीक्षण गरिएको बताए।

२३ बिघा जमिनमा फैलिएको प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त होस्टल निर्माण गरिएको छ। होस्टल ३८ कोठाको छ। होस्टल एक सय २० खेलाडी अट्ने गरी बनाइएको छ। प्रतिष्ठानभित्र विद्युत् र पानीको व्यवस्था गरिसकिएको छ। शिलान्यास भएको एक दशकपछि प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेटसहित चासो देखाएपछि गत आर्थिक वर्षमा निर्माण कार्यले तीव्रता पाएको थियो। प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र ट्रयाकसहित फुटबल मैदान बनाउन करिब ५ करोड बराबरको टेन्डर आह्वान गरेर काम अगाडि बढाएको थियो।

तर, कोरोनाका कारण बीचमा काम रोकियो। मैदानलाई वैशाखसम्म तयार गर्ने योजना रहे पनि लकडकाउनले प्रभाव पारेको दाहालले जानकारी गराए। विगतमा सरकारले प्रतिष्ठानको निर्माण कार्यलाई प्राथमिकता नदिएकाले कछुवा गतिमा कामअघि बढेको थियो। प्रदेश सरकारले आफ्नो गौरवको योजनाअन्तर्गत बहुवर्षे योजनाका रूपमा प्रतिष्ठानलाई अगाडि बढाएको छ।

प्रदेशको राजधानी हेटौंडालाई चिनाउन रंगशालालाई बजेट विनियोजन गरिएको छ। निर्माण जारी रंगशालामा फुटबल, क्रिकेट, भलिबलसहित एथलेटिक्स खेलहरू सञ्चालन गर्न मिल्ने पूर्वाधार तयार गर्दै प्रदेशको हेटौंडालाई खेलको केन्द्र बनाउने काममा प्रदेश सरकारको ध्यान गएको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

निर्माण जारी केन्द्रीय प्रतिष्ठान स्पोर्ट्स युनिभर्सिटीका रूपमा प्रस्ताव गरिएको छ। उक्त परियोजना नेपाली खेल जगत्कै महत्वाकांक्षी मानिएको छ। २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले एकेडेमी शिलान्यास गरेका थिए। खेलकुद क्षेत्रलाई सरकारले बेवास्ता गरेको गुनासो सरोकारवालाले गरिरहेका बेला शिलान्यास गरिएको एकेडेमी नेपालको बढी लगानी रहेको खेलकुद योजना हो ।

मास्टर प्लानअनुसार एकेडेमीमा पौडीपोखरी, फुटबल मैदान, बहुउद्देश्यीय हल, औषधोपचार विशेष सुविधा, प्रशासनिक ब्लक, पानी ट्यांकी र पानी प्रशोधन प्रविधि, महिला तथा पुरुष आवास, लन टेनिस, पार्किङ तथा रिक्रियसन ब्लक निर्माण योजना छ।

प्रतिक्रिया दिनुहोस्