औबामेयाङको सहयोगले आर्सेनल फाइनलमा



लन्डन, (एजेन्सी)

पिइरे एभेरिका औबामेयाङको सानदार प्रदर्शनको सहयोगमा आर्सेनल (गनर्स) ले एफए कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । बेम्बलीमा शनिबार राति भएको सेमिफाइनल खेलमा गनर्सले उपाधि दाबेदार म्यानचेस्टर सिटीलाई २–० ले स्तब्ध तुल्याएको हो। त्योसँगै आर्सेनलका मेनेजर मिकेल आर्टेटाले उनका गुरु पेप गार्डिओलालाई पनि पछाडि पारे।

आर्टेटा गत डिसेम्बरमा म्यानचेस्टर सिटीको सहायक मेनेजर छाडेर आर्सेनलको मेनेजर बनेका हुन्। उनी हाल पहिलो प्रमुख उपाधि नजिक छन्। अघिल्लो प्रिमियर लिग खेलमा पनि उनको टोलीले लिभरपुलमाथि सानदार जित हात पारेको थियो। यसअघिका दुई सिजनमा सिटी प्रिमियर लिग विजेता हुँदा उनी सहायक मेनेजर थिए ।

खेलका म्याच विनर औबामेयाङले दुवै गोल गरेका थिए। उनले सिटीको डिफेन्सलाई छताछुल्ल पार्दै दुवै हाफमा एक–एक गोल गर्न सफल भएका थिए। उनले १९औं मिनेटमा निकोलास पेपेको क्रसमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सिटी आक्रमक बनेको थियो तर उनीहरू अवसर गुमाउन पुगे। यसको लाभ लिए औबामेयाङले। उनले ७१औं मिनेटमा गोल गरेपछि आर्सेनलका लागि जित पक्का भएको थियो। त्यो गोलले सिटीको फाइनल पुग्ने आश पनि सकिएको थियो। गार्डिओलाको टोली सिटीले गत सिजनमा वाटफोर्डलाई फाइनलमा ६–० ले हराएको थियो। यो सानदार उपलब्धि यसपटक भने दोहो¥याउन सकेन।

प्रतिक्रिया दिनुहोस्