मेसीको नयाँ किर्तिमान, सातौंपटक पिचिची अवार्ड



एजेन्सी ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेसीले कीर्तिमानी सातौंपटक पिचिची अवार्ड जितेका छन् ।

ला लिगामा सर्वाधिक गोलकर्तालाई दिइने सो अवार्ड उनले यस सिजनसहित सातपटक जितेका हुन् । यस सिजन उनले ला लिगा सकिँदा कूल २५ गोल गर्दै कीर्तिमानी सातौं पटक उक्त अवार्ड आफ्नो नाममा लेखाउन सफल भए ।

आईतबार राति बार्सिलोनाले लिगको ३८औं चरणको खेलमा अलाभेसलाई उसैको मैदानमा ५/० ले पराजित गरेको थियो । सो खेलमा मेसीले २ गोल गर्नुका साथै १ असिस्ट गरेका थिए । उक्त दुई गोलसँगै मेसीले यो सिजन लिगमा आफ्नो गोलसंख्या कूल २५ पुर्‍याएका छन् । यस सिजन उनको नाममा कीर्तिमानी २१ असिस्ट पनि रह्यो । उनले यसअघि २० असिस्ट गरेका जाभीको किर्तिमानलाई उछिनेका हुन् । बार्सिलोनाका पूर्व कप्तान जाभीले २००८र०९ को सिजनमा सो किर्तिमान कायम गरेका थिए ।

मेसीले सिजन २०१९र२० को पिचिची अवार्ड जितेसँगै उनी अब उक्त अवार्ड सबैभन्दा धेरै सातपटक जित्ने एक्लो खेलाडी समेत बनेका छन् । यसअघि एथ्लेटिक बिल्बाओका लिजेन्ड स्पेनिस खेलाडी तेल्मो जर्रा र मेसीको नाममा समान ६र६ पटक उक्त कीर्तिमानी अवार्ड थियो । तर, अब मेसी एक्लैले सो कीर्तिमानमा आफ्नो नाममा लेखाएका छन् ।

जारी सिजनको ला लिगाको उपाधि भने लिगको अन्तिम खेल अगावै रियल मेड्रिडले जितिसकेको छ । आइतबार आफ्नो अन्तिम खेलमा भने रियलले लेगानेससँग २–२ गोलको बराबरी खेलेको थियो । रियलको जितमा कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरेका थिए ।

बराबरीपछि लेगानेस दोस्रो डिभिजिनमा झरेको छ । ३६ अंकमा लिग समाप्त गरेको लेगानेसलाई रेलिगेसन बच्न जित आवश्यक रहेको थियो । मालोर्का र इस्पान्योल यसअघि नै रेलिगेट भइसकेका थिए । १७औं स्थानको सेल्टा भिगो भने इस्पान्योलसँग बराबरी खेलेपछि रेलिगेसनबाट बचेको छ ।

अंक तालिकाको माथिल्लो तीन स्थानमा रियलको ८७ अंक रह्यो भने बार्सिलोनाको ८२ र एट्लेटिको मेड्रिड र सेभिया समान ७० अंकमा रहे । एट्लेटिको हेड–टु–हेडमा तेस्रो स्थानमा रह्यो । दुवै टोलीले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । एट्लेटिकोले आइतबार सातौं स्थानको रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको थियो ।

६० अंक साथ पाचौं स्थानको भिलारियलले आइबारलाई ४–० ले हरायो । भिया रियल र सोसिडाडले युरोपा लिग खेल्नेछन् । सोसिडाडले समान ५६ अंक रहेपनि हेड–टु–हेडमा ग्रानाडालाई युरोपा लिग छनोटमा पछि पारेको हो ।

मेसीले सात सिजन पिचिची अवार्ड जित्दाको गोल तथ्यांक :

सिजन गोल

२००९/१० -३४
२०११/१२- ५०
२०१२/१३ -४६
२०१६/१७ -३७
२०१७/१८ -३४
२०१८/१९ -३६
२०१९/२०- २५

प्रतिक्रिया दिनुहोस्