केन चम्किँदा टोटनह्यामको सहज जित



एजेन्सी ।

स्टार फरवार्ड ह्यारी केन चम्किँदा इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले सहज जित निकालेको छ ।

आइतबार राति भएको लिगको ३७औं चरणको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली लेस्टर सिटीमाथि ३–० गोलअन्तरको सहज जित हासिल गर्‍यो ।केनले ४ मिनेटको अन्तरालमा दुई गोल गरेपछि टोटनह्यामले सहज जित आत्मसात गरेको हो ।

लिग तालिकाको सातौं स्थानको टोटनह्यामसँग पराजित भएपछि चौथो स्थानको लेस्टरको शीर्ष चारभित्र पर्ने लक्ष्य धरापमा पर्न थालेको छ । टोटनह्यामले लेस्टरलाई हराउँदा यसको फाइदा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडलाई पुग्ने देखिएको छ ।

आफ्नो मैदानमा टोटनह्यामले छैटौं मिनेटमा उपहार गोलको मद्दतमा अग्रता लिएको थियो । टोटनह्यामका कोरियन खेलाडी सनले हानेको प्रहार लेस्टरका जेम्स जस्टिनलाई लागेर रिफ्लेक्ट हुँदै गोलपोस्टमा छिरेको थियो । त्यसपछि टोटनह्यामका लागि खेलको ३७औं मिनेटमा ह्यारी केनले दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

उक्त गोल गरेको ३ मिनेटपछि नै केनले व्यक्तिगत दोस्रो गोल गरे । उनले दोस्रो गोल पनि मोउराकै पासमा गरेका थिए । उनले बक्स भित्रबाट हानेको प्रहार पोलमा लाग्दै गोलपोस्टमा छिरेको थियो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल टोटनह्यामले ३–० ले जित्यो ।

यो जितपछि टोटनह्याम ३७ खेलबाट ५८ अंक जोड्दै सातौं स्थानबाट छैटौं स्थानमा उक्लेको छ । पराजित लेस्टर अझै पनि ३७ खेलपछि ६२ अंक बनाएर चौथो स्थानमा नै यथावत छ । यो खेलमा हारेपछि लेस्टरको चौथो स्थान गुम्ने सम्भावना भने बढेको छ । यदि पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडले आफ्नो ३७औं खेल जितेमा लेस्टरलाई पछि पार्दै चौथो स्थान कब्जा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्