बर्लिनको विमानस्थलभित्र खेलियो टेनिसको फाइनल



एजेन्सी । कोरोना भाईरसको सन्त्रासका बीच पनि संसारभर खेल प्रतियोगिताहरु बिस्तारै सुचारु हुन थालेका छन् । यस्तोमा बर्लिन विमास्थलभित्र पनि टेनिसको फाइनल म्याच खेलिएको छ । वास्तवमा, बर्लिनमा डब्लूटिए टूर अन्तर्गत एउटा प्रदर्शनी टेनिस प्रतियोगिता जारी छ । तर, वर्षाका कारणले उक्त प्रतियोगिता प्रभावित बनिरहेको छ । यसैकारण बर्लिनको टेम्पलहोफ विमानस्थलभित्र म्याचहरु खेलाइएका छन् ।

डब्लूटिए टूर अन्तर्गत रहेको सो प्रतियोगिताको महिलातर्फको पहिलो लेगको फाइनल यूक्रेनकी एलिना स्वितोलिना र पेत्रा क्वितोभाका बीच विमानस्थलको ह्याङ्गर–६ मा खेलिएको थियो । जसमा छैटौं वरियताकी स्वितोलिनाले दुई पटककी विम्बलडन च्याम्पियन क्वितोभालाई ३–६, ६–१९१०–५० ले हराउँदै उपाधि जितिन् ।

उक्त फाइनल निर्धारित मितिभन्दा दुई दिनपछि टेम्पलहोफ विमानस्थलको खेलाइएको हो । वास्तवमा उक्त प्रतियोगिताको यसअघिका म्याचहरु भने बर्लिनको स्टेफी ग्राफ ग्रास कोर्टमा खेलिएका थिए । तर, लगातार वर्षा भएपछि फाइनल म्याच त्यहाँ खेलाउन असम्भव भएको थियो ।

यसैबीच पुरुषतर्फको दोस्रो लेग अन्तर्गत क्वाटरफाइनलका दुई म्याच पनि सोही विमानस्थल भित्र नै खेलाईएको छ । जसमा इटालीका जान्निक साइनरले करेन खाचानोभलाई हराए भने ४२ वर्षीय टोमास हासले पनि जान लेन्नार्ड स्ट्रफलाई पराजित गरे ।

शनिबारबाट प्रतियोगिताको दोस्रो लेगका अन्य खेलहरु पनि जारी छ । यसअघि स्टेफी ग्राफ कोर्टमा भएको प्रतियोगिताको पहिलो लेगको पुरुषतर्फको फाइनल भने अस्ट्रियाका डोमिनिक थिएमले जितेका थिए । गत बुधवार भएको उक्त फाइनलमा थिएमले मातियो बेरेटिनीलाई ६–७, ६–४९१०–८० ले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्