लिड्स युनाइटेड प्रिमियर लिगमा प्रमोसन



लन्डन, (एजेन्सी)

लिड्स युनाइटेड १६ वर्षपछि इंग्लिस प्रिमियर लिगमा प्रमोसन भएको छ । शुक्रबार राति भएको खेलमा वेस्ट ब्रोम २–१ ले हारेपछि लिड्स प्रिमियर लिगमा बढुवा हुने पक्का भयो । अंकतालिकामा ४४ खेलमा ८७ अंकसहित टोली शीर्ष स्थानमा छ भने वेस्ट ब्रोमले ४५ खेलमा ८२ अंक जोडेको छ । सो खेल हारे पनि वेस्ट ब्रोम प्रिमियर लिगमा बढुवा हुन नजिक छ ।

अर्जेन्टिनी मार्सेलो बिइल्साले उनको दोस्रो सिजनमा लिडस्लाई बढुवा गर्न सफल भएका हुन् । गत सिजनमा लिड्स तेस्रो स्थानमा रहेको थियो । योर्कसायरको टोली लिड्सले प्रिमियर लिगमा हुँदा सन् २००१ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा खेलेको थियो । यसपछि आर्थिक समस्याले घेरिएपछि टोली सन् २००४ मा प्रिमियर लिगबाट रेलिगेसन भएको थियो ।

वेस्ट ह्याम सुरक्षित
वेस्ट ह्यामको इंग्लिस प्रिमियर लिगमै रहने लक्ष्य पूरा भएको छ । शुक्रबार राति भएको खेलमा वेस्ट ≈यामले वाटफोर्डलाई ३–१ ले हराएको थियो । यो जितले वेस्ट ह्यामलाई रेलिगेसनबाट सुरक्षित बनायो भने वाटफोर्डलाई समस्या बढायो ।

वाटफोर्डले प्रिमियर लिगमै रहन एक जितको आवश्यक छ । यस सिजनको लिगमा २ खेल खेल्न बाँकी रहेको छ । वेस्ट ह्यामको ३७ अंक छ र गोल भिन्नता पनि माथि रहेको छ । रेलिगसेनको खतरामा रहेका तीन टोली वाटफोर्ड, बर्नमाउथ र एस्टन भिल्लाको क्रमशः ३४, ३१, ३१ अंक छ ।

यी तिनै टोलीको आगामी अन्तिम दुई खेल कडा प्रतिद्वन्द्वीसँग हुँदै छ । जसमा वाटफोर्डको म्यानचेस्टर सिटी र आर्सेनलजस्ता टोलीसँग खेल हुनेछ । यस्तै बर्नमाउथले साउथाम्पटन र एभर्टनसँग खेल्नेछ भने एस्टन भिल्लाले आर्सेनल र वेस्ट ह्यामसँग आफ्नो भाग्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्