अस्ट्रेलियाली पूर्व कप्तान तथा रेफ्री बेर्रीको निधन



एजेन्सी । अस्ट्रेलियाली टिमका पूर्व कप्तान तथा विकेट कीपर ब्याट्सम्यान बेर्री जर्मनको निधन भएको छ ।

केही समययता बिरामी रहेका उनको ८४ बर्षको उमेरमा निधन भएको हो । उनको निधनले अस्ट्रेलियाली क्रिकेटमा शोकको वातावरण छाएको छ । बेर्रीले अस्ट्रेलियाली टिमका लागि दस वर्षमा कुल १९ टेस्ट म्याच खेलेका थिए । फर्स्ट क्लास क्रिकेटरको रुपमा उनले लामो अनुभव बटुलेका थिए ।

१३ वर्षसम्म घरेलू क्रिकेटमा जमेका बेर्रीले साउथ अस्ट्रेलियाबाट १ सय ९१ फर्स्ट क्लास म्याच खेलेका थिए । त्यस्तै, १९५९ देखि १९६९ सम्म उनले राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका थिए । त्यस क्रममा उनी केहि म्याचमा राष्ट्रिय टिमका कप्तान पनि बनेका थिए । डिसेम्बर १९५९ को कानपुरमा भएको भारतविरुद्धको खेलमा बेर्रीले टेस्ट म्याचमा डेब्यू गरेका थिए । उक्त म्याच भएको तीन वर्षपछि मात्र उनले आफ्नो दोस्रो टेस्ट म्याच खेलेका थिए ।

८ वर्षसम्म उनी टिममा बाहिरिने र भित्रिने क्रम चलेको थियो । तर, फर्स्ट क्लास क्रिकेटमा आफ्नो दमदार प्रदर्शनको बलमा उनले १९६७(६८ को सिजनमा कंगारू टिमक लागि निरन्तर क्रिकेट खेलेका थिए । त्यस क्रममा इंग्ल्यान्डविरुद्ध एशेज सिरीजको एउटा म्याचमा उनलाई टिमको कप्तान नियुक्त गरिएको थियो । बेर्री टिमको नियमित कप्तान भने होइनन् , उनी स्ट्यान्ड(इन क्याप्टेन थिए । नियमित कप्तान बिल लरी इन्जुरी भएकाले बेर्रीले कप्तानको जिम्मेवारी पाएका थिए ।

१९६९ मा बेर्रीले आफ्नो अन्तिम टेस्ट म्याच एडिलेडमा खेलेका थिए । १९९५ मा भने इन्टरनेसनल क्रिकेट काउन्सिल आइसीसीको रेफ्रीको भूमिकामा उनले अन्तर्राष्ट्रीय क्रिकेटमा पुनरागमन गरेका थिए । १९९५ देखि २०११ सम्म उनले २५ टेस्ट र २८ वान डे इन्टरनेसनल म्याचहरुमा रेफ्रीको भूमिका निर्वाह गरे । उनी अस्ट्रेलियाली टिमको ३३औं टेस्ट कप्तान थिए । उनको नाममा हरेक सिजन बेर्री जर्मन ट्रफी साउथ अस्ट्रेलियन क्रिकेट टिमका उत्कृष्ट खेलाडीलाई प्रदान गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्