राखेप सदस्य सचिवको एक पदमा २७ उम्मेदवार



न्युज अफ नेपाल, काठमाडौं ।

खेलकुद विकास ऐन २०७७ आएसँगैं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव पदका लागि खुला आह्वान गरिएको छ । यो ६ दशकको राखेपको इतिहासमा पहिलो पटक यस्तो खुला दर्खास्तको आह्वान भएको हो । यही पदका लागि अहिले मैदानमा २७ जना उम्मेदवारी आएका छन् ।

आज दरखास्तको अन्तिम दिन बिहीबारसम्ममा थप १५ जनाले आवेदन दर्ता गरेका हुन् । अघिल्लो दिन मात्रै निवर्तमान राखेप सदस्य सचिव रमेश सिलवालले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । गत मंसीरमा १३ औं साग सम्पन्न गरेर सफल बनेका सिलवाल सदस्यसचिव पदका लागि बलियो उम्मेदवारी पनि हुन् ।

खेलकुद विकास ऐन अनुसार सदस्यसचिवको सिफारिसका लागि खेलकुद मन्त्रालयले तीन सदस्यीय टोली बनाएको छ जसमा रामप्रसाद थपलिया संयोजक तथा इन्दिरा निरौला र रिम रानाभाट सदस्य छन्। समितिले कम्तीमा एक महिलासहित तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। २७ जनामध्ये तीन महिलाको उम्मेद्वारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्