अनलाइनमार्फत राष्ट्रिय बुद्धिचाल



हेटौंडा, (नेस)

नेपाल बुद्धिचाल संघले अनलाइनमार्फत राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी राखेको छ । कोरोना भाइरसको महामारीको समयमा भौतिकरूपले ठूलो संख्यामा खेलाडी जम्मा गरी खेल सञ्चालन गर्न÷ गराउन रोक लगाइएकाले अनलाइनमार्फत प्रतियोगिताहरू सञ्चालन गरिएको संघले जनाएको छ ।

असार १९ गते शुरू भएको प्रतियोगिता साउन ३१ गतेसम्म चल्ने नेपाल बुद्धिचाल संघका सचिव धर्म लामाले जानकारी दिए। हरेक शुक्रबार र शनिबार १६, १४, १२, १० र ८ वर्ष उमेर समूहका खुला तथा महिलाको अनलाइन प्रतियोगिता सञ्चालन हुने सचिव लामाले बताए। युथ जुनियर र ५० वर्षभन्दा माथि उमेर समूहका प्रतिस्पर्धीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

असार १९ र २० गते २० वर्षभन्दा कम उमेरका महिला तथा खुला, असार २२ गते ५० वर्षभन्दा माथि उमेर समूहका, असार २६ गते १८ वर्षभन्दा कम उमेरको महिलातर्फ र असार २७ गते १८ वर्षभन्दा कम उमेर समूहका अनलाइनमार्फत प्रतियोगिता सम्पन्न भएको उनले बताए ।

सबै उमेर समूहका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । बुद्धिचाल संघले प्रशिक्षक तथा निर्णायकका लागि रिफ्रेसमेन्ट कार्यक्रम र दसैँपछि महिला र खुला प्रतियोगिता पनि सञ्चालन गर्ने उनको भनाइ छ ।

यसअघि एसियन बुद्धिचाल महासंघले २० वर्षभन्दा कम उमेर समूहका प्रतियोगिता सञ्चालन गरिसकेको छ भने ५० वर्ष र ६५ वर्षमाथि उमेर समूहको प्रतियोगिता जारी छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघले जुलाई २२ देखि ३० अगस्टसम्म अनलाइन चेस ओलम्पियाड सञ्चालन गर्ने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन नेपालले पूर्वनेपाल च्याम्पियन सुरवीर लामाको कप्तानीमा १३ सदस्यीय टोली छनोट गरेको छ । टोलीमा २१औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईं र उपविजेता फिडे मास्टर मनिष हमाल, छैठौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता महिला फिडे मास्टर सुजना लोहनी र उपविजेता सिन्दिरा जोशी, उच्च वरीयताका क्यान्डिडेट मास्टर विवेक थिङ र फिडे मास्टर रूपेश जैसवाल, महिलातर्फ उच्च वरीयताका रञ्जु भट्ट र शान्ति धिमाल छन् ।

प्रतिक्रिया दिनुहोस्