चेल्सीको च्याम्पियन्स लिग छनोट हुने आशा



लन्डन, (एजेन्सी)

नर्विच सिटीमाथि १–० को सांघुरो जित हात पारेपछि चेल्सीले च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ ।

प्रिमियर लिगअन्तर्गत मंगलबार रातिको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभिएर गिरोडले निर्णायक गोल गरेका थिए। फ्रेन्च स्ट्राइकरले पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले दाया“बाट गरेको क्रसमा हेडमार्फत गोल गरेका थिए । यो जितस“गै फ्रान्क लाम्पार्डको टोली ६३ अंकसहित अंक तालिकामा तेस्रो स्थानमा यथावत रह्यो ।

चेल्सीले आगामी आइतबार एफए कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । टोलीले अर्को साता बुधबार एनफिल्डमा प्रिमियर लिगअन्तर्गत खेलमा लिग च्याम्पियन लिभरपुलसँग सामना गर्नेछ। सो खेलमा ३ अंक जोड्न सकेमा टोलीको आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित हुनेछ।

नर्विच गत शनिबार वेस्ट ह्यामस“ग ४–० ले हारेर प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । यो हारसँगै टोलीले यस सिजनमा प्रिमियर लिगमा ३६ खेलमा २५ खेलमा हार व्यहोरेको छ। यो प्रिमियर लिगमा कुनै पनि टोलीले हारेको सर्वाधिक संख्या हो । नर्विच प्रिमियर लिगमा सात सिजनमा तेस्रोपटक रेलिगेसन भएको हो ।

प्रतिक्रिया दिनुहोस्