कतार विश्वकपको खेल योजना सार्वजनिक



ज्युरिच, एजेन्सी ।

सन् २०२२ मा हुने कतार फिफा विश्वकपमा हुने खेल योजना सार्वजनिक गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र आयोजक कतारको विश्वकप आयोजना उच्च समितिले संयुक्त रुपमा उक्त खेल योजना सार्वजनिक गरेको हो । बुधबार जारी उक्त खेल योजनामा म्याचको मिति, समय र खेलस्थल निर्धारण गरिएको छ । योजना अनुसार विश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । त्यस्तै, फाइनल खेल भने डिसेम्बर १८ मा दोहामा अवस्थित ८० हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियमा खेलाईनेछ ।

त्यसैगरी, समूह चरणमा लगातार १२ दिनसम्म दैनिक चार म्याचहरु खेलाइनेछ । प्रत्येक समूह चरणका खेलहरु तीन घण्टाको अन्तरालमा हुनेछ । उक्त म्याचहरु कतारको ८ वटा रंगशालामा खेलाईनेछ । नेपाली समय अनुसार समूह चरणको पहिलो खेल अपरान्ह २ः४५ हुनेछ । त्यस्तै, फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ हुनेछ ।

प्रिक्वार्टर फाइनल अन्तर्गत प्रत्येक दिन दुई खेल हुनेछन् भने दुई दिनको विश्रामपछि क्वार्टरफाइनल र अर्को दुई दिनको विश्रामपछि सेमिफाइनलका खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्