सिलवालले दिए उम्मेदवारी



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव रमेश सिलवालले उम्मेदवारी दिएका छन् । सिलवालले बुधबार उम्मेदवारी दर्ता गराएपछि सो पदका लागि उम्मेदवारी दिनेको संख्या ११ पुगेको छ । गत वर्ष असार २३ गते सदस्य सचिवमा नियुक्त भएका थिए ।

तर हालै खेलकुद विकास ऐन २०७७ लागु भएपछि उनी पदमुक्त भएका हुन् । यसअघि सिलवालले दरखास्त दिएर सदस्यसचिव बन्न नचाहेको बताउँदै आएका थिए । तर आज उनले दर्ता गरेपछि उनी पुन सोही पदमा आउने चर्चा पनि चलेको छ।

खेलकुद विकास ऐन २०७७ लागु भएपछि राखेप सदस्यसचिवको इतिहासमा पहिलो पटक दरखास्तको आह्वान गरिएको छ । यसअघि खेलकुद मन्त्रालयको सिफारिसमा सीधै सो पदका लागि आफ्ना व्यक्ति नियुक्त हुने चलन चल्दै आएको छ । तर यसपटक पनि दरखास्त दिने नयाँ प्रावधान चले पनि प्रधानमन्त्रीको निकट भनिएका सिलवाल नै सदस्य सचिव हुने चर्चा व्यापक चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्