मनकामना कपको आयव्यय सार्वजनिक गर्न निर्देशन



पोखरा, (नेस)

कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) माथिको छानबिन सकिएलगत्तै छानबिन समितिले संघलाई तीनवटा निर्देशन दिएको छ । ११ दिनदेखि शुरू गरिएको छनबिनको टुंगो लगाउँदै समितिले संघलाई तत्कालै कार्यालय स्थापना गरी २०७५ सालमा पोखरामा भएको मनकामना केबलकार पोखराकपको आयव्यय १५ दिनभित्र सार्वजानिक गर्न निर्देशन दिएको हो ।

‘हामीले संघलाई तीनवटा निर्देशन दिएका छौं, निर्देशनको पालना भएन भने कारबाही हुन्छ छानबिनको प्रतिवेदन तयार पारेका छौं बाँकीको कारबाही केन्द्रले (एन्फा) गर्नेछ।’ –अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष एवम् छानबिन समिति संयोजक वीरबहादुर खड्का (बच्चु)ले भने ।

छानबिन समितिले संघको तत्काल कार्यालय खोल्न, मनकानमा केबलकार पोखराकपको तत्काल अधिवेशन बसी आयव्यय सार्वजानिक गर्न र महेन्द्र गुरुङको संयोजकत्वमा घाटा रकम तिर्नका लागि समिति गठन गरी रकम तिर्न निर्देशन दिएको हो ।

कास्की जिल्ला फुटबल संघमा भएको आर्थिक अनियमितता सम्बन्धी गठित छानबिन समितिले विभिन्न ६ विषयलाई लिएर छानबिन गरेको थियो । यसको मुख्य विषय भनेकै २०७५ सालमा भएको मनकामना केबलकार पोखराकप रहेको थियो, जसको आर्थिक गतिविधि आयव्यय सार्वजानिक हुन सकेको थिएन ।

कुनै पनि संस्थाले प्रतियोगिता सञ्चालन गरेपश्चात् त्यसको ६ महिनाभित्र आयव्यय सार्वजानिक गर्ने प्रावधान रहेको छ । तर एन्फा कास्कीले भने दुई वर्षसम्म पनि आयव्यय सार्वजानिक गरेको छैन । प्रतियोगिता सञ्चालनका दौरान २९ लाख १७ हजार २ सय ९० रुपियाँ नोक्सान भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्दा ९२ लाख ९८ हजार १ सय ६५ रुपियाँ खर्च भएको थियो भने ६३ लाख ८० हजार ८ सय ७४ रुपियाँ आम्दानी भएको थियो, जसमा विभिन्न ३७ पार्टी(व्यवसायीहरू)लाई २४ लाख ९८ हजार ९ सय १४ रुपियाँ तिर्न बाँकी रहेको छानबिन समितिका संयोजक खड्काले जानकारी दिए ।

‘हामीले निष्पक्षरूपमा छानबिन गरेका छौं र प्रतिवेदन तयार पारेका छौं । हामी कसैको पनि दबाब र प्रलोभनमा नपरी प्रतिवेदन तयार गरेका छौं करिब २०–२२ बुँदे प्रतिवेदन तयार पारेका छौं’, खड्काले भने– ‘हामीले विभिन्न ६ विषयलाई लिएर छानबिन गरेका हौं । ग्रास रुटमा फाइदा भएको देखिएको छ जसको रकम बैंकमा जम्मा भएको छ ।

त्यस्तै प्रदेश लिगको पनि विजेता, उपविजेता तथ रेफ्रीलाई रकम दिन निर्देशन गरेका छौं ।’ कास्की एन्फामा आर्थिक अनियमितता भएको उजुरीका आधारमा असार २ गते एन्फा केन्द्रको आकस्मिक बैठक बसी छानबिन समिति गठन गरेको थियो ।

यस्तै छानबिन समितिले प्रतियोगिताबाहेक अन्य कास्की जिल्ला लिग फुटबल प्रतियोगिता, अन्तर विद्यालय फुटबल प्रतियोगिता (जिल्ला), अन्तर विद्यालय फुटबल प्रतियोगिता (प्रदेश), अन्तर विद्यालय फुटबल प्रतियोगिता पुरुष र अन्तर विद्यालय फुटबल प्रतियोगिता महिला तथा प्रदेशस्तरीय रेफ्री कोर्सको छानबिन गरी प्रतिवेदन तयार पारेको हो । मनकामना कपमा बाहेक अन्य विषयमा भने सकारात्मक देखिएको उनले भने ।

प्रतिक्रिया दिनुहोस्