ओलम्पिकको लागि तयार रंगशालामा खेल हुने



टोकियो, एजेन्सी ।

ओलम्पिकका लागि तयार गरिएको जापानको राष्ट्रिय रंगशालामा पहिलो पटक खेल हुने भएको छ ।जापान एसोसिएशन अफ एथ्लेटिक्स फेडेरेसन ९जेएएएफ० ले मंगलवार टोकियोमा अवस्थित उक्त रंगशालामा एथ्लेटिक्स अन्तर्गत ट्रयाक एन्ड फिल्ड प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

उक्त रंगशालामा आगामी २३ अगस्तमा द गोल्डन ग्रान्डप्रीक्स २०२० रेस हुने भएको छ । यसअघि सो रेस गएको १० मे मा ओलम्पिकको लागि तयारी परिक्षणमा रुपमा गर्ने तय भएको थियो । तर, कोरोना भाईरसका कारण उक्त प्रतियोगिता स्थगित गर्नुपरेको थियो ।

जेएएएफका अनुसार यात्रामा लागेको प्रतिबन्धका कारण उक्त ग्रान्ड प्रीक्स रेसमा जापानी खेलाडीहरुले मात्र भाग लिने बताएका छन् । जसमा जापानका उत्कृष्ट एथ्लीट्सका साथै हाई स्कूल स्तरका विधार्थी खेलाडीहरुले पनि प्रतिस्पर्धा गर्ने छन् ।

यस वर्ष जापानमा कोरोनाका कारण नेशनल हाई स्कूल च्याम्पियनसिप र अन्य सम्पूर्ण खेल प्रतियोगिताहरु रद्द गरिएकाले विधार्थी खेलाडीहरुलाई पनि प्रतियोगितामा सहभागी गराउन लागिएको हो । गोल्डेन ग्रान्डप्रीक्स रेस हेर्नका लागि भने रंगशालामा दर्शकलाई बन्देज गरिएको छ । तर, टेलिभिजनमा भने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिनेछ ।

स्टेडियम निर्माणमा ८७ प्रतिशत काठ प्रयोग

टोकियो ओलम्पिकका लागि तयार पारिएको उक्त स्टेडियममा ८७ प्रतिशत काठ प्रयोग गरिएको बताइएको छ । जसमा २ हजार घन मीटर देवदारको काठ प्रयोग गरिएको छ । उक्त काठ सन् २०११ मा जापानमा आएको सुनामीका कारण विनाश भएका जंगलहरुबाट ल्याइएका हुन् ।

दर्शकहरुलाई प्रकृतिसँग जोड्न र गर्मीबाट बचाउन यस्तो गरिएको बताइएको छ । जसका लागि १ सय ८५ ठूलो पंखा र ८ स्थानमा कूलिंग नोजल पनि जडान गरिएका छन् । ५ तल्ले स्टेडियम करीब १६ हजार करोड नेपाली रुपैयाँ बराबरको लागतमा तयार पारिएको हो । रंगशालामा ६० हजार दर्शक क्षमताको रहेको छ ।

यस वर्ष ओलम्पिक सरेपछि जापानलाई झन्डै ९० हजार करोड नेपाली रुपैयाँ बराबर नोक्सान भएको छ । साथै ३६ करोड रुपैयाँ बराबरको अतिरिक्त खर्च पनि बढेको जनाइएको छ । टोकियो ओलम्पिकका अध्यक्ष योशिरो मोरीले यदि आगामी वर्ष पनि ओलम्पिक आयोजनाको मिति सरेमा ओलम्पिक नै रद्द हुनसक्ने बताएका छन् ।

उनले भने,–“२०२२ मा कतारमा फिफा विश्वकप र बेइजिंगमा शीतकालीन ओलम्पिक हुने तय भएको छ । यस्तोमा यदि कोरोनाको खतरा बढ्दै गयो भने टोकियो ओलम्पिकको मिति पुनः सार्नु भन्दा रद्द नै गर्ने प्रबल सम्भावना छ ।” टोकियो ओलम्पिक यसै महीनाको २४ जुलाईदेखि सुरु हुने तय भएपनि कोरोना भाइरसका कारण एक वर्ष पछाडि सरि सकेको छ । टोकियो ओलम्पिकको नयाँ मिति २०२१ को २३ जुलाईदेखि ८ अगस्तसम्म तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्