चीयर गर्ल्सको ठाउँमा डान्सिङ्ग रोबोट्स



टोकियो, एजेन्सी ।

कोरोना भाईरसका कारण हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आईरहेको छ । सार्वजनिक स्थानहरुमा सामाजिक दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्नु परेको छ । हरेक क्षेत्रमा कोभीड–१९ का कारण परिवर्तन आईरहेको छ भने मानिसहरु पनि त्यसै अनुसार आफ्नो जीवन शैली बदल्ने अभ्यासमा छन् । जसको एउटा उदाहरण जापानी बेसबल लिगमा पनि देखिएको छ ।

जापानमा खाली रंगशालामा बेसबल लीग सुचारु गरिएको छ । त्यसै क्रममा टिमलाई हौसला दिनका लागि चीयर गर्ल्सको ठाउँमा डान्सिङ्ग रोबोटहरु राखिएका छन् ।निप्पोन प्रोफेशनल बेसबल लीगअन्तर्गत केही दिन अघि सम्पन्न राकुटेन ईगल्स टिमविरुद्धको म्याचमा फुकुओका हक्स टिमका खेलाडीहरुको उत्साह बढाउन डान्सिङ्ग रोबोटहरु रंगशाला राखिएको थियो ।

मानव र कुकुरको आकृतिमा रहेका ती रोबोटहरुले टिमको गीतसँगै नाचेका थिए । सामाजिक सञ्जालमार्फत् उक्त भिडियोलाई झन्डै डेढ लाख पटकभन्दा बढी हेरिएका छन् ।

समर्थकहरुले यस विषयमा मिश्रित प्रतिक्रिया समेत दिएका छन् । एकजना प्रयोगकर्ताले लेखेका छन्,–ुयो डरलाग्दो अनुभव थियो, मलाई लाग्छ टर्मिनेटरको सुरुवात यसरी नै भएको हुनुपर्छ ।’ त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्,–’मान्छेलाई यो डरलाग्दो लागिरहेको होला, तर मलाई चाहिँ मनपर्‍यो । म फेरि हेर्न चाहन्छु ।’

उक्त लीग प्रतियोगिता खाली स्टेडियममा सुचारु भएकोले दर्शकको कमी केहि हदसम्म ती डान्सिङ्ग रोबोटहरुले पूरा गर्ने प्रयास गरिएको छ । कोभीड–१९ संक्रमणका कारण अहिले विश्वका अधिकांश देशहरुका खेल गतिविधिहरु रित्तो खेलस्थलमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्