सन्दीप ५ हजारबाट ९० हजारमा पुगे



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो २ वर्षदेखि विश्वका विभिन्न लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । यसपटक भने उनले कोरोना भाइरसको कारण कहीं पनि खेल्न पाएका छैनन् ।

क्रिकेटको सिजन शुरू हुने भनिए पनि कोरोनाको कारण कहीं पनि प्रतियोगिता आयोजना भएको छैन । यसको बाबजुद वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि खेलाडी अनुबन्ध गरिएको छ ।

सीपीएलमा सन्दीपलाई यसपटक खेलाडी ड्राफ्टमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनलाई ९० हजार डलरमा अनुबन्ध गरिएको हो । यो नेपाली करिब १ करोड रकम हुन आउँछ । सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबेगामा बन्द रंगशालामा आयोजना गर्दै छ । तर त्यहाँको सरकारले स्वीकृत भने अझै दिएको छैन ।

यदि प्रतियोगिता भएमा यो सन्दीपको सीपीएलमा लगातार तेस्रो सिजनमा सहभागिता हुनेछ । यसअघि सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलाउ“दाको मूल्य केबल ५ हजार डलर थियो । उनले पहिलो सिजनमै ७ विकेट हात पार्दै सीपीएलका टिमहरूमा आफ्नो प्रभाव पारेका थिए ।

सन्दीपले सीपीएलको दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सका लागि खेलेका थिए । उनको एकै वर्षमा रकम पनि ह्वातै बढेको थियो । उनलाई बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । यो टिम उनका लागि फलिफाप पनि भयो, उनले त्यति बेला ८ विकेट लिएका थिए ।

साथै बार्बाडोसले सोही सिजनमा सीपीएलमा उपाधि पनि जितेको थियो । अहिले उनको अनुबन्ध रकम ७० हजार डलरबाट बढेर ९० हजार डलरमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्