राखेपका कर्मचारी तथा प्रशिक्षकले दिए राजीनामा



न्यूज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् ।गत बिहिबारबाट खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसँगै सोमबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय खेल संघबाट राजीनामा दिएका हुन् ।

नयाँ ऐनले परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन कार्यान्वयनमा आएसगै राष्ट्रिय खेल संघमा आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको छ ।

परिषदका संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टेबल टेनिस संघ, नेपाल तड ईलमादो संघ, नेपाल ईकवेष्ट्रीन संघ, नेपाल हात्ती खेल संघको सदस्य पदबाट राजीनामा दिएका छन् । यस्तै, खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघबाट, प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जितकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ तथा नेपाल जोरशाने खेलकुद संघबाट राजीनामा दिएका छन् ।

त्यस्तै, खेलकुद विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले नेपाल सिन्दोकाई कान कराते संघ, नेपाल आर्चरी संघ, नेपाल ट्रायथलन संघबाट राजीनामा बुझाएका छन् । परिषदका प्रचार प्रसार शाखाका नायब शुब्बा दामोदर अर्यालले नेपाल ट्रायथलन संघ र नेपाल फुटभली संघ, कराते प्रशिक्षक हरिबहादुर राउतले शारिरीक सुगठन तथा फिटनेश संघ, प्रशासन विभागका प्रशासकिय अधिकृत भोजानन्द राईले नेपाल आईकिडो संघबाट राजीनामा दिएका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिका नायब सुब्बा डम्बरबहादुर नेपालीले नेपाल भलिबल संघ, संघ संस्था समन्वय शाखाका नायब सुब्बा टेककुमार राजभण्डारीले नेपाल भलिबल संघ, प्रशिक्षक जगदीश प्रसाद भट्टले नेपाल भलिबल संघ, प्रचार शाखाका नायब सुब्बा बासुदेव निरौलाले नेपाल पौडी संघ, प्रशिक्षक शंकर गौतम र सन्ध्या शाक्यले अखिल नेपाल टेबल टेनिस संघ, राष्ट्रिय टिम तयारीका लेखा अधिकृत विकास विक्रम शाहले नेपाल कुराँस संघ तथा ब्याडमिन्टन संघका उपमहासचिव लव श्रेष्ठले परिषदमा राजीनामा बुझाएका छन् ।

परिषदका कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुदाँ स्वार्थ बाझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नया व्यवस्था गरेको हो । ऐनमा परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ । परिषदकै कर्मचारी तथा प्रशिक्षक खेल संघमा आबद्ध हुँदा खेलाडी तथा संघका गतिविधि प्रभावित हुने देखिएपछि ऐनले नयाँ ब्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्