बक्सिङ्गको स्तर खुम्चिएको भनाईप्रति आपत्ति



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले केही सञ्चारमाध्यमले नेपाली बक्सिङ्गको स्तर खुम्चिएको भनेर समाचार सम्प्रेषण गरेकोमा प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

केही अनलाईन मिडियाहरुबाट नेपाली बक्सिङ्गको स्तर खुम्चिएको, बक्सिङ्ग संघमा आर्थिक अनियमितता भएको, विधान मिचिएको भन्ने समाचार प्रकाशित भएपछि नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानाकर्षण भएको र आपत्ति रहेको अध्यक्ष अवालेले बताएका छन् ।

उनले भने,–’नेपाली बक्सिङ्गको स्तर खुम्चिएको भनिएको छ, रेकर्ड हेर्नुस् भन्न चाहन्छु’, दक्षिण एसियाली खेलकुदमा बक्सिङ्गले हासिल गरेको सफलता सुनाउँदै अवालेले थपे । १२औँ दक्षिण एसियाली खेलकूदमा ३ वटा काश्य पदक जितेको बक्सिङ्गले १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ वर्ष पुरानो रेकर्ड तोड्दै बक्सिङ्ग ईतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कांस्य पदकका साथै दुई दर्जन भन्दा बढी उपाधि जित्यो ।’

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भएको बक्सिङ्गले आफ्नो कार्यकालमा २०१० देखिको अन्तर्राष्ट्रिय पदकको खडेरीलाई तोड्दै ९ स्वर्ण,२ रजत र २ कांस्य जितेको उनले सुनाए । आफू नेतृत्वको कार्यसमितिको पालामा सागमा नेपाल भारतपछिको दोस्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदाएको उनको दावी छ । उनले यस सम्बन्धमा संघले स्पष्ट पार्न चाहेको र संघको समेत ध्यानाकर्षण रहेको जनाए ।

उनले खेलाडी, प्रशिक्षक, खेलप्रेमी सबैलाई भ्रममा नपर्न आग्रह गरे । ‘कुनै पनि संघ संस्थाको आर्थिक तथा अन्य गतिविधिमा राज्य तथा सरोकारवाला निकायहरुको निगरानी अपरिहार्य छ’,–अवालेले भने,–‘नेपाल बक्सिङ्ग संघ स्वायत्त संस्था भए पनि यसले गर्ने हरेक गतिविधिहरुमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्को निर्देशन, सहयोग र सुझाव रहँदै आएको छ । त्यसैले संघका आर्थिक लगायत सम्पूर्ण गतिविधिहरु पारदर्शी छन् ।’

‘यस सम्बन्धमा सघं जहिले पनि खुला छ, हरेक पक्षको सत्य–तथ्य जानकारी दिन हामी तयार छौं’,–अवालेले भने,–‘समाचार सम्प्रेषण गर्दा प्रमाण पनि प्रस्तुत गर्न आग्रह गर्दछु । अनाहकमा कसैको मानहानी हुने गरी समाचार सार्वजनिक गर्ने अधिकार समाचार संस्थालाई पनि छैन ।

मिडियाले जनताको सही सुचना पाउने मौलिक हकलाई आत्मसात गर्दै सत्य तथ्य र निष्पक्ष सूचना तथा समाचार सम्पादन सम्प्रेषण गर्नुपर्छ’,–अवालेले भने । कुनै किसिमको आर्थिक अनियमितता नभएको र प्रकाशित समाचारमा सत्यता नभएको नेपाल बक्सिङ्ग संघद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्