रोब्बेन बाल्यकालकै क्लबबाट खेलमा फर्कदैं



लन्डन, (एजेन्सी)

चेल्सी, रियाल मेड्रिड र बायर्न म्युनिखका पूर्व फुटबलर आर्येन रोब्बेन ३६ वर्षको उमेरमा खेलमा पुनः फर्कने योजनामा रहेका छन् ।

बाल्यकालमा खेल्ने क्लब ग्रोनीनगेनबाट रोब्बेनले खेल्ने तयारी भएको हो । ३० भन्दा बढी क्लब ट्रफी जितेपछिउनले २०१९ जुलाईमा खेलबाट संन्यास लिएका थिए ।

तर उनी २०२०–२१ सिजनको लागि ग्रोनीनगेनलाई सहयोग गर्न खेलमा फर्कने आशामा छन् । उनले बताए—ग्रोनीनगेनको जर्सी फेरि लगाउनु मेरो सपनाहो । तर मलाई थाहा छैन कि यो काम हुनेछ ।

रोब्बेनले क्लबका स्टाफसँग धेरै पटक कुरा गरेको बताएका छन् । आफ्नो राष्ट्र नेदरल्यान्डस्को ९६ क्याप लगाएका उनले १६ वर्षको उमेरमा ग्रोनीनगेनका लागि डेब्यु गरेकाथिए । उनले बताए—कमब्याक मेरो लागि फिजिकल च्यालेन्ज पनि हो ।

ग्रोनीनगेन यस सिजन २०१९–२० को एरेडीभसी (डच लिग) कोरोनाभाइरसको कारण स्थगित हुँदा नवांै स्थानमा रहेको थियो । टोलीले लिग स्थगित हुन अघि पीएसभी एन्डहोभनसँग १–० ले हारेको थियो । एरेडीभसीको अर्को सिजन सेप्टेम्बरको मध्यबाट शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्