बार्सिलोनाका मेनेजर बर्खास्त हुन सक्ने



मेड्रिड, (एजेन्सी)
स्पेनी ला लिगा महारथी बार्सिलोनाले मेनेजर क्वीके सेतीनलाई सिजनको अन्त्यमा बर्खास्त गर्ने तयारीमा रहेको स्पेनी मिडियाले जनाएको छ ।

६१ वर्षीय सेतीनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेपछि मेनेजरको रुपमा बार्सिलोनाले क्लबमा ल्याएको हो । तर उनी सुपरस्टार लियोनल मेसीको टोलीलाई नियन्त्रण राख्न संघर्ष गरिरहेका छन् । हालको प्रदर्शनले गर्दा उनी बोर्डलाई प्रभावित गर्न सकेका छैनन् ।

आईतबार रातिको खेलमा रेलिगेसनको खतरामा परिरहेको टोली सेल्टा भिगोसँग बार्सिलोना २–२ मा रोकिएपछि नै सबै जना सेतीनसँग खुशी देखिएका छैनन् । क्लबका खेलाडीहरु उनको नेतृत्वमा ला लिगा उपाधि रक्षागर्न र च्याम्पियन्स लिग जित्न नसक्ने भन्ने विश्वासमा लागेका छन् ।

हाल ३१ खेलको चरणपछि बार्सिलोना उसको प्रतिद्वन्द्वी रियाल मेड्रिडसँग २ अंकले पछि परेको छ । आगामी खेलहरुमा रियाल मेड्रिडका लागि सजिलो हुने पनि त्यहाँका मिडियाले दावी गरेको छ । बार्सिलोनालाई सेटिनसँग लियोनल मेसीसमेत खुशी छैनन् भन्ने मिडियामा आएको खबरले प्रष्ट पारेको छ ।

उनका सहायकले निर्देशन दिएको कुरालाई मेसीले नजरअन्दाज गरेको तस्वीर र भिडियो मिडियामा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्