महानिरीक्षक बन्न थापा र पालको दौडधुप



काठमाडौं, (नेस)

प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको दौडधुप शुरु भएको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा हदका कारण यही असार २४ गते अनिवार्य अवकाश पाउनुहुनेछ ।

ज्ञवालीको अवकाशपछि २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । अबको आठ दिनपछि नेपाल प्रहरीको नयाँ महानिरीक्षक बन्न अहिलेका एआईजीहरुले आ–आफ्नो पक्षमा लबिङलाई तीव्रता दिएका छन् ।

हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएको छ । उहाँहरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुनुहुन्छ ।

त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा हुनुहुन्छ । उहाँहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नुहुनेछ ।

आईजीपी नियुक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । यद्यपि सरकारले यसबारे ठोस छलफल गरेको छैन । दुवै एआईजीका आ–आफ्ना विशेषताहरु रहेका छन् ।

संगठनमा थापाको बौद्धिक र इमानदार अधिकृतको छवि छ भने पाल अपरेसन र कमान्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्