शैक्षिक परामर्श व्यवसायलाई सहयोग चाहियो



भक्तपुर, (नेस)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलसहितको टोलीसँग छलफल गर्नुभएको छ ।

छलफलमा वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरूको कोभिड–१९ र लकडाउनले उत्पन्न गरेको परिस्थितिका बारेमा विशेष छलफल भएको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

मन्त्री पोखरेलसँगको भेटमा विदेश अध्ययनमा जाँदा विद्यार्थीले अनिवार्यरूपमा बनाउनुपर्ने अध्ययन अनुमतिपत्र जारी गर्ने प्रक्रियालाई पुनः सुचारु गर्ने मोडालिटीका बारेमा पनि छलफल भएको अध्यक्ष प्याकुरेलको कथन छ ।

हाल नेपालमा २ हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्था सञ्चालनमा रहे पनि कोभिड–१९ को महामारीका कारण ३ महिनादेखि बन्द छन् भने एनओसी रोकिएका कारणले ४ महिनादेखि विदेश अध्ययन प्रक्रिया अवरुद्ध छ ।

जसका कारण लगभग ४ हजार विदेश अध्ययनमा जान चाहने विद्यार्थी मारमा परेका छन् भने ५ अर्बको लगानी र लगभग ४० हजार कर्मचारीको जागिर जोखिममा परेको छ ।

यसअघि पनि संघले एनओसी खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासँग छलफल गरेको थियो । दुवै भेटमा नेकाका कोषाध्यक्ष रमण कोइरालालगायत संघका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

वैदेशिक अध्ययनका लागि आवश्यक अनुमतिपत्र आवश्यकता अनुसार जारी गर्नु भनी मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के–कसरी र कुन–कुन मुलुकका लागि जारी गर्ने भन्ने काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिरहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्