जनप्रतिनिधिको सुविधा रकम कोरोना कोषमा



चिरञ्जीवी मास्के, दोलखा

दोलखाको शैलुङ गाउँपालिकाले जनप्रतिनिधिको आठ महिनाको विभिन्न सेवा–सुविधाबापतको ४० लाख रुपियाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेको छ ।

गाउँपालिका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरूले पाउने विभिन्न सेवा–सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको अध्यक्ष भरत दुलालले बताउनुभयो ।

कोरोना संकटको यो बेलामा सबैले सेवा–सुविधा लिनुभन्दा त्यसलाई गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्नु उपयुक्त हुने राय सबैबाट आएपछि पालिकाको बैठकलेनै निर्णय गरेर उक्त रकम जम्मा गरिएको अध्यक्ष दुलालको भनाइ छ ।

२०७६ सालको ६ महिनाको र २०७४ सालको लिन बाँकी रहेको जेठ, असार दुई महिनाको गरी आठ महिनाको विभिन्न सेवा–सुविधाको रकम कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।

आठ महिनाको गाउँपालिका अध्यक्षको २ लाख ५० हजार, उपाध्यक्षको करिब २ लाख, वडा अध्यक्षको १ लाख ८० हजार र अन्य सदस्यको समेत गरी ४० लाख भएको र उक्त रकम कोषमा जम्मा गरिएको अध्यक्ष दुलालले बताउनुभयो ।

जनप्रतिनिधिको विभिन्न सेवा सुविधाबापतको ४० लाखमा कोरोना संक्रमणपछि गाउँपालिकाले शुरूमा बनाएको ४० लाखको कोरोना कोषबाट खर्च कटाएर बचेको २ लाख र गाउँपालिकाको १८ लाखसहित २० लाख थप गरी ६० लाखको कोष बनाइएको अध्यक्ष दुलाललको भनाइ छ ।

शुरूको कोरोना कोषबाट ३८ लाख विभिन्न स्वास्थ्य सामग्री खरिद, क्वारेन्टिन व्यवस्थापन, गाउँपालिकाका नागरिक ल्याउने काम र स्वास्थ्यकर्मी तथा कोरोना नियन्त्रण अभियानमा प्रत्यक्ष संलग्न कर्मचारीहरूलाई थप सुविधा दिइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्