मेसीको जन्मदिनमा बार्सिलोनाको जित



लन्डन, एजेन्सी ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको जन्मदिनमा बार्सिलोनाले जित दर्ता गरेको छ।

स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहान भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि १-० को कठिन जित निकाल्दै पुनः शिर्ष स्थानमा उक्लिएको हो ।

उक्त जितसँगै उपाधिको होडमा रहेको बार्सिलोना पुनः लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाको जितमा एकमात्र गोल इभान राकिटिचले गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा बार्सिलोनाले अग्रता लिएको थियो । खेलको ७१ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका राकिटिचको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । लियोनल मेसीले प्रहार गरेको बल बिल्बाओका डिफेन्डरमा लाग्दा पाएको बललाई राकिटिचले गोल गर्न सफल भए ।

यस खेलमा राकिटिचको गोलमा असिस्ट गरेसँगै मेसीले बार्सिलोनाका लागि कूल असिस्ट संख्या पनि २ सय ५० पुर्‍याएका छन् ।

तर, मेसीले बिल्बाओविरुद्ध गोल गर्न नसक्दा आफ्नो ३३औं जन्मदिनमा ७ सयौं गोलको खुसीयाली मनाउन भने पाएनन् । यदि आज १ गोल गरेको भए मेसीले आफ्नो करिअरको ७ सय गोल पूरा गर्ने थिए । आज (जुन २४) मा मेसीले ३३औं जन्मदिन मनाउँदैछन् ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियलसँग फेरी तीन अंकका अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक भएको छ एक खेल कम खेलेको रियलको ६५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्