ग्रिगोर दिमित्रोभलाई कोरोना संक्रमण



लन्डन, एजेन्सी ।

चर्चित बुल्गेरियन टेनिस स्टार ग्रिगोर दिमित्रोभलाई कोरोना भाइरस संक्रमण भएको छ । २९ वर्षीय दिमित्रोभ भर्खरै बिश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले आयोजना गरेको आद्रिया टुर इभेन्टका दुई प्रतियोगितामा सहभागी भएका थिए ।

दिमित्रोभले क्रोएशियाको जादारमा भएको दोस्रो प्रतियोगितामा बिरामी भएपछि शनिबार आफ्नो नाम फिर्ता लिएका थिए । आइतबार जोकोभिच खेल्ने सम्भावना रहेको फाइनल रद्द गरिएको थियो ।

बेलग्रेडमा भएको पहिलो प्रतियोगितामा सहभागी भएका दिमित्रोभले आफ्नो इन्स्टाग्राममा लेखेका छन् -“म मोनाकोमा कोरोना पोजिटिभ देखिएको थिए । पछिल्लो केही दिन मेरो सम्पर्कमा रहनु भएकाहरु सबैजनाले परिक्षण गराउँदै आवश्यक सावधानी अपनाउनु होला । म अहिले घरमा छु र ठीक हुँदैछु । मैले केही नराम्रो गरेको रहेछु भने माफी माग्न चाहन्छु ।”

जोकोभिचले दुवै प्रतियोगिता कोरोना भाइरसका कारण लामो समयदेखि नखेलेका खेलाडीहरुलाई फिट रहनका लागि आयोजना गरेका थिए । प्रतियोगितामा जोकोभिचसँगै वरियताको उत्कृष्ट दसमा रहेका एलेक्जेण्डर भेरेभ र डोमिनिक थिएम पनि खेलेका थिए ।

खेलहरु समाप्त भएपछि खेलाडीहरुले एक अर्कालाई अंकमाल पनि गरेका थिए । सामाजिक सञ्जालमा दिमित्रोभले जोकोभिच, भेरेभ र मारिन सिलिचसँग बास्केटबल खेलेको तस्विरहरु पनि राखेका छन् ।

सर्बियामा भएको प्रतियोगितामा ४ हजार दर्शक थिए भने जादारमा हजारौंले प्रत्यक्ष हेरेका थिए । सर्बिया र क्रोएशियाले लकडाउन खुकुलो बनाउदै गर्दा खेलाडीहरुले भने सामाजिक दुरीलाई ध्यान दिएका थिएन ।

प्रतिक्रिया दिनुहोस्