सबै संक्रमित डिस्चार्ज भएसँगै खोटाङ कोरोना मुक्त



रामधन राई, खोटाङ ।

असार–७, चारै जना कोरोना संक्रमितहरु निको भएपछि खोटाङ हाल कोरोना संक्रमणमुक्त बनेको छ । कोरोना संक्रमणको पूष्टी भएका हलेसी तुवाचुङ नगरपालिकाका चारै जना निको भएपछि जिल्ला कोरोना संक्रमणवाट मुक्त बनेको हो ।

संक्रमण पुष्टी भए लगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षका हिमाल कार्की, २१ वर्षकै भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय खुम्बराज राईलाई शुक्रबार डिस्चार्ज गरिएको छ । डिस्चार्ज भएका उनीहरुलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टीनमा राखिएका उनीहरुलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि गत जेठ २३ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएको थियो । कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्धय गत जेठ ११ गते गाउँ आइपुगेका हुन् । यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ । भारतबाट आएपछि उनीहरु सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्