‘सरकारको विरोध मात्रै गर्ने प्रवृत्ति गलत’



भक्तपुर, (नेस)।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना–ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्ने सपना नदेख्न विपक्षीलाई आग्रह गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाको सातौं नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै उहाँले जनताको विकासको चाहनालाई कसैले कुनै बाहनामा रोक्न नसक्ने बताउनुभएको हो ।

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, कर्वोड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनिक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडीबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरू कसैको इच्छाले नरोकिने बताउँदै उहाँले यस्ता आयोजना सम्पन्न भएरै छाड्ने भनाइ राख्नुभयो ।

भक्तपुरमा १८ हजार रोपनीमा बन्ने स्मार्ट सिटी राज्यको शून्य लगानीमा बन्ने बताउँदै उहाँले स्मार्ट सिटी बनाउने र स्मार्ट सिटीले नछुने क्षेत्रमा दुईवटा नयाँ शहर निर्माणका प्रक्रिया अगाडि बढेको भनाइ राख्नुभयो ।

सरकारले अनियमितता, भ्रष्टाचार गर्नेलाई कारबाही गर्दै आएको र आगामी दिनमा पनि कारबाही गर्ने बताउँदै उहाँले प्रधानमन्त्रीको विरोध मात्रै गर्ने प्रवृत्ति गलत भएको उहाँले टिप्पणी गर्नुभयो ।

‘नेपालीमा कम्युनिस्ट पावरसमेत बढिरहेको हुन्छ किनकि नेपालीले दैनिक जीवनमा खानपानमा प्रयोग गरिने अदुवा, तातोपानी, बेसारलगायतले इम्युनिटी पावर बढाउने कार्य गर्छ भन्ने विभिन्न विद्वान्ले समेत उल्लेख गरिसकेका छन् । सोही आधारमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई स्याल हुइँया गर्नुको कुनै अर्थ छैन ।

त्यस्तै कोरोना तथा मुलुकको विष्म परिस्थितिमा प्रतिपक्षी भन्नेहरू खट्नु नपर्ने, बिग हाउसहरू जिम्मेवारी हुनु नपर्ने ?’ –उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सदस्यहरू डा. राजेन्द्रमान श्रेष्ठ, शशिजंग थापा, कृष्णलाल भँडेल, सरस्वती बाटी, रजनी जोन्छे, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपा जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको महामारीबीच आएका चुनौतीको सामाना गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्