बार्सिलोना विजयी



न्युज अफ नेपाल, काठमाडाैँ ।

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना विजयी बनेको छ ।

लिगको २९औं चरणको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा लेगानेसलाई २–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । नेपाली समयअनुसार बुधबार बिहान दर्शकबिहिन क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फाती र कप्तान लिओनल मेसीले एक-एक गोल गरे ।

तुलनात्मक रूपमा घरेलु मैदानमा फितलो प्रदर्शन गरेको बार्सिलोना पहिलो हाफमा केही दवाबमा परेको थियो । पाहुना टोली लेगानेसले खेलको ११औं र १३औं मिनेटमा गोल गर्ने सुनौला मौका गुमाएपछि बार्सिलोना गोल बेहोर्नबाट बचेको थियो । तर, त्यसपछि खेलमा बार्सिलोनाले अग्रता लियो ।

क्याम्प नोउ टोलीका लागि खेलको ४२औं मिनेटमा युवा स्टार अन्सु फातीले निकै आकर्षक गोल गरे । जुनियर फिर्पोको पासमा उनले हल्का प्रहारमा गोल गरेका थिए । पहिलो हाफसम्म १–० को अग्रता बनाएको बार्सिलोनाले खेलको ६९औं मिनेटमा कप्तान मेसीले पेनाल्टीमार्फत् टिमका लागि दोस्रो गोल गरे । बल लिएर अघि बढिरहेका मेसीलाई डी-बक्समा लेगानेसका खेलाडीले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मैदान रेफ्रीको पेनाल्टी निर्णयलाई भिएआरले पनि सदर गरेपछि मेसीले पेनाल्टीलाई गोलमा परिणत गरे । जारी सिजनको लिगमा मेसीले आफ्नो गोलसंख्या २१ पुर्‍याएको छ ।

मेसीले ६९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुअघि ६७औं मिनेटमा एन्टोनी ग्रीजम्यानले पनि गोल गरेका थिए । तर, उनको गोल भिएआरले अमान्य गरि दिएका थिए । उनले नेल्सन सेमेडोको पासमा गोल गरे पनि भिएआरले सेमेडो अफसाइड रहेको भन्दै गोलको मान्यता दिइएन ।

उक्त जितसँगै बार्सिलोनाले लिगका २९ खेलबाट ६४ अंक जोडेको छ । बार्सिलोनाले एक खेल कम खेलेको दोस्रो स्थानको रियल मेड्रिडलाई ५ अंकले पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्