आज बार्सिलोनाले लेगानेसको सामना गर्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज बार्सिलोनाले लेगानेसको सामना गर्दैछ ।

लिगको २९औं चरणअन्तर्गत आज बार्सिलोनाले लेगानेसको सामना गर्न लागेको हो । त्यस्तै, अन्य खेलमा गेटाफेविरुद्ध इस्पान्योल र भियारियलविरुद्ध मालोर्का आमनेसामने हुनेछन् ।

बार्सिलोनाले आज आफ्नो घरेलु मैदानमा हुने खेल जितेमा स्पष्ट जित निकाल्दै दोस्रो स्थानको रियल मेड्रिडसँग अंक दूरी २ बाट पुनः ५ नै बढाउन सक्नेछ । तर, पराजित भएमा वा बराबरी भएमा भने त्यसको फाइदा रियलले लिनेछ । हाल बार्सिलोना २८ खेलपछि ६१ अंकसहित पहिलो स्थानमा छ ।

यता २३ अंक रहेको लेगानेस भने १९औं स्थानमा छ । रेलिगेसन जोनमा रहेको लेगानस आज क्याम्प नोउमा उत्रिँदा बार्सिलोनाबाट कम्तिमा पनि १ अंक लिने दाउमा हुनेछ । रेलिगेसनबाट माथि उक्लन लेगानेसलाई बार्सिलोनाविरुद्धको खेल महत्त्वपूर्ण बनेको छ ।

यसअघिको खेलमा बार्सिलोनाले अवे मैदानमा मालोर्कालाई ४-० ले हराएको थियो भने लेगानेस आफ्नै घरमा भाल्लाडोलिडसँग २-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्