एन्फाविरुद्ध अख्तियार र सार्वजनिक लेखामा उजुरी



न्युज अफ नेपाल, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) मा अवैधानिक तथा आर्थिक अनियमितताविरुद्ध कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनः उजुरी दर्ता गरेका छन् ।

भक्तपुर, काठमाडौं, ललितपुर र धादिङका जिल्ला फुटबल संघले दुई वर्ष अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका थिए ।

त्यतिबेला युवा तथा खेलकुद मन्त्रालयले सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा एक छानबीन समिति गठन गरेर छानबिन शुरु गरेको थियो । यी चार जिल्लाका अध्यक्षले संयुक्तरुपमा प्रकाशित विज्ञप्तिमा त्यतिबेला दोषीलाई संरक्षण गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ—’त्यतिबेला हामीलाई कुनै खबर नगरी एकपक्षीय निर्णय लिँदा एन्फामा आर्थिक अनियमितता झन बढ्दै गएको छ । यसैले हामीले फेरि अख्तियार र सार्वजनिक लेखा समितिमा आर्थिक अनियमितताको छानबीन गरी कारबाहीको माँगसँगै उजुरी दर्ता गरेका छौ ।’

एन्फामा भएको अनियमितता तथा अवैधानिक कार्यको विरोध गर्दा अवैधानिक तरिकाले आफुहरुलाई नै एन्फा कार्यसमितिले बेवास्ता गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा लेखिएको छ— ‘एन्फाले हामीमाथि पूर्वाग्राह राखेको छ । हामी कुनै व्यक्तिगत स्वार्थको निमित्त लडिरहेका छैनौं । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस्तै अवैधानिकहरुलाई समर्थन गरिरहेको छ ।’

हालै एन्फा अध्यक्षको तराइप्रतिको अभिव्यक्तिमाथि कुनै कार्बाही नभएको र ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही हुँदा राष्ट्रिय खेलकुद परिषदले कुनै किसिमको पहल नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि प्रधानमन्त्री केपी ओली शर्मा, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा यी चार जिल्ला फुटबल संघका अध्यक्षले एन्फा अध्यक्षविरुद्ध उजुरी राखेका थिए ।

एन्फाका कार्यप्रति असन्तुष्ट यी चार जिल्लाका अध्यक्षहरुमा काठमाडौ जिल्ला फुटबल संघका अध्यक्ष विराटजग शाही, ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, धादिङ फुटबल संघका अध्यक्ष दीपक खतिवडा र भक्तपुर फुटबल संघका अध्यक्ष गौतम सुखजु रहेका छन् । उनीहरुले विगत एक वर्षदेखि एन्फामा आर्थिक अनियमितता र एकलौटी कार्य भइरहेको भन्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्