विश्वकपका सर्वाधिक गोलकर्ता क्लोज



कविरस शर्मा ।

दोस्रो विश्वयुद्धको अवधिलाई छोड्ने हो भने सन् १९३० देखि प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ फिफा विश्वकप । ९० वर्षको इतिहास बोकेको विश्वकपमा थुप्रै खेलाडीले गोल गरेका छन् । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमा फ्रान्सका लुसिएन्ट लौरेन्टले पहिलो गोल गरेयता १२ सय जना भन्दा बढी फुटबलरले विश्वकप गोलमा आफ्नो नाम लेखाइसकेका छन् । जसमध्ये हालसम्म १० भन्दा बढी गोल गर्ने खेलाडी जम्मा ७ जना मात्रै छन् । ती मध्येका तीन खेलाडी त जर्मनीका मात्रै छन् । जसमा मिरोस्लाभ क्लोज अंग्रपंक्तिमा छन् ।

सन् २०१४ को ब्राजिलमा सम्पन्न फिफा विश्वकपमा ब्यक्तिगत गोल संख्या १६ पुर्याएसँगै जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोज विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले सन् २००२ देखि २०१४ सम्म गरी चार वटा विश्वकपमा खेलेको थिए । त्यसक्रममा उनले कुल गोलसंख्या १६ पुर्याएका हुन् । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा उनले ५ गोल गरेका थिए । ती सबै गोल उनले हेड मार्फत गरेका थिए । उक्त विश्वकपको समूह चरणअन्तर्गत जुन १ मा जर्मनीले साउदी अरेबियालाई ८–० ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए । त्यस्तै, रिपब्लिक अफ आयरल्याण्ड र क्यामरूनविरुद्ध पनि उनले समान एक–एक गोल गरेका थिए ।

त्यस्तै, सन् २००६ को विश्वकपमा पनि उनले ५ गोल नै गरेका थिए । समूह चरणको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले हराउँदा उनले आफ्नो नाममा दुई गोल लेखाएका थिए । त्यस्तै, इक्वेडरविरुद्ध समूहको अन्तिम खेलमा पनि उनले दुई गोल गरेपछि जर्मनी ३–० ले विजयी बनेको थियो । त्यसैगरी क्वाटरफाइनलमा अर्जेन्टिनाले १–० ले अग्रता लिँदा क्लोजले नै खेलको ८० औं मिनेटमा हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

सन् २०१० को विश्वकपमा भने उनले ४ गोल गर्दै विश्वकपमा आफ्नो ब्यक्तिगत गोल संख्या १४ पुर्याएका थिए । समूह चरणमा जर्मनीले अस्ट्रेलियालाई ४–० ले हराउँदा उनले एक गोल गरेका थिए । त्यसपछि अन्तिम १६ को खेलमा जर्मनीले इंग्ल्याण्डलाई ४–१ ले हराउँदा उनको पनि एक गोल योगदान रहेको थियो । त्यस्तै, क्वाटरफाइनलमा जर्मनीले अर्जेन्टिनाको चुनौती ४–० ले समाप्त पार्दा दुई गोल गरेपछि विश्वकपमा उनको ब्यक्तिगत गोलसंख्या १४ पुगेको थियो ।

करियरको चौथो विश्वकप अर्थात् सन् २०१४ को ब्राजिल विश्वकप क्लोजको लागि अविष्मरणीय बन्यो । उनले उक्त विश्वकपमा थप दुई गोल गर्दै रोनाल्डोको कीर्तिमान तोड्नुका साथै विश्वकपको ट्रफी समेत उचाल्ने सौभाग्य पाए । जर्मनी चौथो पटक च्याम्पियन बनेको उक्त विश्वकपको घानाविरुद्धको खेल २–२ को बराबरीमा टुङ्गिँएको थियो । जसमा एक गोल गरेका उनले ब्राजिलका रोनाल्डोले बनाएको १५ गोलको कीर्तिमानसंग बराबरी गरेका थिए । त्यस्तै, सेमीफाइनलमा आयोजक ब्राजिलविरुद्ध कीर्तिमानी ७–१ को जित निकाल्दा खेलको २३ औं मिनेटमा उनले एक गोल गरेका थिए । उक्त गोलसंगै उनले विश्वकपको इतिहासमा सर्वाधिक १६ गोल गरेर नयाँ कीर्तिमान रच्न सफल भए ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर :

१६ गोल मिरोस्लाभ क्लोज, जर्मनी

१५ गोल रोनाल्डो, ब्राजिल

१४ गोल गर्ड मुलर, जर्मनी

१३ गोल जस्ट फोन्टेन, फ्रान्स

१२ गोल पेले, ब्राजिल

११ गोल सान्डोर कोक्सिस, हंगेरी

११ गोल जर्गेन क्लिन्सम्यान, जर्मनी

प्रतिक्रिया दिनुहोस्