एन्फाले आपत्कालीन बैठक बोलाउने



न्युज अफ नेपाल, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आपतकालिन बैठक बोलाउने भएको छ ।

एन्फाले सोमबार दिउँसो १ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आपतकालीन बैठक गर्ने भएको छ । बैठक मुख्यत ४ एजेण्डामा केन्द्रित हुनेछ । कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक आह्वान गरेको हो ।

एन्फाको मानार्थ अध्यक्ष, कोरोना राहत, भक्तपुर जिल्ला फुटबल संघको क्रियाकलाप र विविध विषय अन्तर्गत चार एजेण्डामा बैठक बस्नेछ । एन्फाले गठन गरेको आपतकालिन समितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, उपाध्यक्षत्रय कृष्ण थापा, विरबहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् ।एन्फा विधानले तत्काल सुल्झाउनुपर्ने विवादहरुको निरुपणका लागि ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ ।

बैठकका लागि चार जना सदस्यको अनिवार्य उपस्थिति हुनुपर्नेछ । यदि मत विभाजनमा बराबरीको अवस्था आएमा अध्यक्षले अन्तिममा मताधिकारको प्रयोग गर्न सक्नेछन् । बैठकले गरेका निर्णय तत्काल कार्यसमिति सदस्यलाई जानकारी गराउनुपर्ने र निर्णय कार्यसमिति बैठकबाट पास गराउनुपर्ने प्रावधान रहेको छ । कार्यसमिति बैठकबाट निर्णय पास नभएको अवस्थामा आपतकालिन बैठकका निर्णय निष्प्रभावी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्