बार्सिलोनाको शानदार जित



न्युज अफ नेपाल,काठमाडाैँ ।

कोरोना भाइरस छिचोल्दै तीन महिनापछि सुचारु भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो पहिलो खेलमा शानदार जित निकोलेको छ ।

नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा लिग लिडर बार्सिलोनाले १८औं स्थानको मालोर्कालाई ४-० गोल अन्तरले हराएको हो । मालोर्कालाई उसैको मैदानमा हराउनेक्रममा बार्सिलोनाका लागि अार्टुरो भिडाल, मार्थिन ब्रेथवेट, जोर्डी अल्बा र कप्तान लिओनल मेसीले गोल गरे ।

मेसीले ९६ दिनपछि मैदान फर्किएको पहिलो खेलमा १ गोल गर्दै २ गोलमा असिस्ट गरे । मेसी खेलको म्यान् अफ दि म्याच पनि घोषित बने । अवे मैदानमा बार्सिलोनाले खेल सुरु भएको ६५ सेकेन्डमै सुरुआती अग्रता लिएको थियो ।

लामो दूरीबाट डिफेन्डर जोर्डी अल्बाले दिएको एरिएल पासमा चिलीका मिडफिल्डर अर्टुरो भिडालले बक्स भित्रबाट सुन्दर हेडिङ प्रहारमा गोल गरेर घरेलु टोलीलाई सुरुआतमै झट्का दिएका थिए ।

त्यस्तै, पहिलो हाफमै बार्सिलोनाले अग्रता दोब्बर बनायो । ३७औं मिनेटमा नयाँ खेलाडी मार्टिन ब्रेथवेटले आकर्षक गोल गर्दै पहिलो हाफसम्म बार्सिलोनालाई २-० ले अग्रता दिलाए ।

सो गोलमा मेसीले असिस्ट गरेका थिए । बार्सिलोनाका लागि ब्रेथवेटको पहिलो गोल थियो । डेनिस खेलाडी ब्रेथवेट गत जनवरी विन्डोपछि आकस्मिक अनुबन्धका रूपमा बार्सिलोना भित्रिएका हुन् ।

बार्सिलोनाले दोस्रो हाफमा पमि थप दुई गोल गर्‍यो । खेलको ७९औं मिनेटमा जोर्डी अल्बाले गरेका थिए । तेस्रो गोलमा पनि कप्तान मेसीले नै असिस्ट गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मेसीले विपक्षी खेलाडीलाई छलाउँदै गोल गरेपछि बार्सिलोनाले खेल ४-० ले आफ्नो पक्षमा पार्‍यो । मेसीको गोलमा फरवार्ड लुइस स्वारेजले असिस्ट गरेका थिए । स्वारेज लामो समय चोटबाट गुज्रिएर हालै मात्र चोटमुक्त हुँदै मैदान फर्किएका हुन् ।

जितसँगै बार्सिलोनाले लिगको २८औं चरणको खेलपछि ६१ अंक जोडेको छ । उसले एक खेल कम खेलेको रियल मेड्रिडलाई ५ अंकले पछि पारेको छ । २७ म्याच खेलेको रियलको खातामा ५६ अंक छ ।

रियलले भोलि आफ्नो खेल खेल्दैछ । यता, बार्सिलोनासँग पराजित मालोर्का २५ अंकसहित १८औं स्थानमा यथावत छ ।

त्यस्तै, स्पेनिस ला लिगा अन्तर्गत अन्य खेलमा इस्पान्योलले डिर्पाेटिभो अलाभेसलाई २–० ले हराउँदा सेल्टा डि भिगो भिया रियलसँग १-० ले पराजित भएको छ । त्यस्तै, रियल भालाेडोलिडले पनि लेगानेसलाई २-१ ले हराउँदै तीन अंक बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्